संविधानले खुशी ल्यायो : सिंह

ENGLISH

संविधानले खुशी ल्यायो : सिंह

22 September, 2015 | Krishna Adhikari | 420 Views | comments

mohan-bikram-singh२०७२ असौज ३ गते संविधान जारी हुनुका साथै संविधान सभा संसदमा रूपान्तरित भएको छ । त्यसरी औपचारिक रूपमा संविधान सभाको अन्त्य भएको छ । यो धेरै प्रसन्नताको कुरा हो । किनभने त्यसले संविधान बनाउने काम पूरा गरेको छ । संविधान निर्माणपछि संविधान सभाको अन्त हुनु स्वाभाविक थियो । त्यसले आफ्नो मिसन पूरा गरेको थियो । त्यसकारण त्यसको त्यो अन्त्य स्वाभाविक नै हो । तैपनि गत साढे ६ दशकसम्म मेरो संविधान सभासित अत्यन्त घनिष्ट र भावनात्मक सम्बन्ध पनि रहेको छ । इतिहासका बेग्ला–बेग्लै कालखण्डमा मेरो त्यससित सम्बन्ध रहेको छ । त्यसैले त्यसको अन्त्यले कता कता मलाई केही दुःख पनि लागेको छ । गत कालमा कैयौँपल्ट त्यसको अन्त हुने गरेको थियो । कैयौँपल्ट त्यसको हत्या पनि हुने गरेको थियो । त्यसरी अस्वाभाविक प्रकारले त्यसको अन्त्य वा हत्या हुँदा धेरै नै दुःख लाग्थ्यो । तर अहिले स्वभाविक प्रक्रिया अनुसार त्यसको अन्त्य भएको छ । त्यसले आफ्नो मिसन पूरा गरेपछि त्यसको अन्त्य भएको छ, जुन स्वाभाविक छ । त्यसका लागि दुःख नलाग्नु पर्ने हो, तैपनि केही दुःख लागेको छ । तर त्यो दुःखभन्दा बढी संविधान बनेकोमा प्रसन्नता अनुभव भएको छ ।

संविधान सभासितको मेरो सम्बन्ध सर्वप्रथम २००७ सालमा कायम भयो । त्यो बेला म नेपाली काङ्ग्रेसको कार्यकर्ता थिएँ । त्यही बेला संविधान सभाको घोषणा भयो । त्यो बेला मैले बुझेको पनि थिइनँ, संविधान सभा भनेको के हो ?पछि राजा त्रिभूवनले त्यसलाई खारेज गराउन षडयन्त्र गर्न थालेपछि बल्ल मैले त्यसको महत्वबारे केही बुझ्न थालेँ । २००९ वा १० सालतिर संविधान सभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी, नेपाली काङ्ग्रेस, राष्ट्रिय काङ्ग्रेस समेतले सत्याग्रह आन्दोलन सुरु गरे । म पनि त्यो आन्दोलनमा सहभागी थिएँ । त्यो आन्दोलनको क्रममा मैले संविधान सभाको महत्व वा त्यसका विरुद्धको राजाको षडयन्त्रबारे केही बुझ्न थालेँ ।

२०१० सालमा काठमाडौँको फोहोरा दरबारमा कम्युनिस्ट पार्टीको द्वितीय महाधिवेशन सम्पन्न भयो । त्यो महाधिवेशनको बढी विवादको विषय गणतन्त्र नै थियो । संविधान सभाको प्रश्नमा आम सहमति थियो । त्यसकारण त्यस विषयमा खास विवाद वा छलफल भएन । तर त्यो बेलासम्म पार्टीभन्दा बाहिर संविधान सभाका विरुद्ध राजा धेरै अघि बढिसकेका थिए । टङ्कप्रसाद आचार्यले संविधान सभाका विरुद्ध राजालाई साथ दिएका थिए भने डा. के.आई. सिंह पनि त्यो षडयन्त्रमा सामेल भए । टङ्कप्रसाद, गङ्गालाल, सुक्रराज समेतका नेता थिए र लामो समयसम्म जेलमा बसेका थिए । त्यसकारण उनीप्रति मेरो मनमा धेरै नै आदरको भावना थियो । तर उनले संविधान सभाको नारा छाडेर राजालाई साथ दिएपछि उनीप्रतिको मेरो आदर पुरै नै समाप्त भएर गयो । त्यो प्रश्नमापछि निर्मल लामासित पनि मेरो विवाद हुने गर्दथ्यो । मैले उनलाई पतित नेताका रूपमा हेर्थें भने लामाजीले उनीप्रति आदर भाव राख्नु हुन्थ्यो । उहाँका प्रकाशित संस्मरणमा टङ्कप्रसादबारे हाम्राबीचमा भएको त्यस प्रकारको विवादको उहाँले उल्लेख गर्नु भएको छ ।

हाइस्कुलमा पढ्दा एक जना शिक्षकले मलाई सोध्नु भएको थियो : “तिम्रो आदर्श नेता को हो ?” मैले जबाफ दिएको थिए ः “वीर के.आई. सिंह” । मेरो त्यो भनाइले के.आई. सिंहप्रतिको अत्यन्त उच्च प्रकारको श्रद्धालाई बताउँथ्यो । उनले पनि राजासित मिलेर संविधान सभालाई रद्दीको टोकरीमा फाल्नु पर्छ भनेपछि मेरो उनीप्रतिको आदर पनि समाप्त भएको थियो ।

म एक पल्ट पाल्पाबाट प्यूठान जाँदै थिए । बाटोमा नेता काशीनाथ गौतमसँग भेट भयो । उहाँले वी.पी. र राजाका बीचमा भएको सम्झौताबारे बताउनु भयो । त्यो सम्झौता अनुसार राजाले सुवर्ण शमशेरको नेतृत्वमा मन्त्रिमण्डल गठन गर्ने, त्यो मन्त्रिमण्डलको नेतृत्वमा संसदको चुनाव गर्ने र ने.का. ले संविधान सभाको नारालाई छाड्ने सहमति भएको थियो । त्यो बेलासम्म ने.का. ले संविधान सभाबारे अडान लिँदै आएको थियो । तर त्यो सम्झौतापछि ने.का. ले पनि संविधान सभाको अडान छाड्यो । त्यसपछि संविधान सभाको पक्षमा हाम्रो पार्टी मात्र बाँकी रह्यो । २०१४ सालमा सम्पन्न द्वितीय महाधिवेशनमा म केन्द्रीय समितिमा निर्वाचित भएको थिएँ । त्यो महाधिवेशनमा डा. केशरजङ्ग रायमाझी समेतले संविधान सभाको नारालाई पूरा समर्थन गरेका थिए । त्यसकारण टङ्कप्रसाद, के.आई. सिंह, वि.पी. आदिले संविधान सभाको नारा छाड्दै गए पनि हाम्रो पार्टीले छाड्दैन भन्ने कुरामा मलाई विश्वास थियो ।

द्वितीय महाधिवेशन सम्पन्न भएको केही समयपछि जनकपुरमा पार्टीको केन्द्रीय समितिको अर्जेन्ट बैठक बोलाइएको थियो । म भारतीय रेलबाट जनकपुरतिर जाँदै थिएँ । मैले अर्को दिशाबाट आउने रेलमा केन्द्रीय समितिको बैठकबाट फर्केका साथीहरूलाई देखेँ । मलाई प्यूठानबाट ३ दिनको पैदल बाटो हिडेर बुटवल पुग्नु पर्दथ्यो र त्यहाँबाट गोरखपुर, मुजफ्फरपुर, रक्सौल भएर जनकपुर जानु पर्दथ्यो । त्यसकारण म तोकिएको दिनभन्दा १ दिनपछि पुगेको थिएँ । त्यसैले म पुग्नुभन्दा पहिले नै बैठक सिद्धिएको थियो र म बैठकमा सामेल हुन पाएको थिइनँ । बैठकमा सामेल हुन नपाएपछि म काठमाडौँ गएको थिएँ । त्यहाँ पुगेपछि जनकपुरको केन्द्रीय समितिको बहुमतले संविधान सभाको नारालाई छाड्ने निर्णय भएको थाहा भयो । त्यो निर्णयले पार्टीमा ठूलो विवाद ल्याएको थियो । त्यसबारे विचार गर्न रौतहटमा पार्टीको प्लेनम बस्यो । त्यो बैठकमा पुष्पलाल, शम्भुराम र म समेतले संविधान सभाको पक्षमा कडा सङ्घर्ष गर्‍यौँ । तर बहुमतले संविधान सभाको नारालाई छाडेर संसदको चुनावमा जाने निर्णय गर्‍यो । त्यो बेलासम्म हामीलाई डा. केशरजङ्ग रायमाझी भित्रभित्रै राजासँग मिलेको कुरा थाहा हुन सकेको थिएन । त्यो कुरा हामीलाई दरभङ्गा प्लेनमको बेलामा मात्र थाहा हुन सकेको थियो ।

रौतहट प्लेनमपछि पनि पुष्पलाल, शम्भुराम र म समेतको अल्पमत पक्षले लगातार संविधान सभाको पक्षमा अडान लिइराख्यौँ । अल्पमतका अन्य साथीहरूमा हिक्मतसिंह भण्डारी र बन्दिपुरका कृष्णलाल पनि हुनु हुन्थ्यो । अन्य एक जना पनि हुनु हुन्थ्यो । अहिले मलाई उहाँको नाम याद भएन ।

संसदको चुनाव सम्पन्न भएपछि केन्द्रीय कमिटीभित्र गणतन्त्र र संविधान सभासम्बन्धी विवादहरू धेरै नै तीव्र बनेर गए । कुनै कुनै बेला महिना÷महिना दिनसम्म केन्द्रीय समितिको बैठक भइरहन्थ्यो । अन्त्यमा केन्द्रीय कमिटीले २०१७ सालको सायद फागुनतिर चितवनमा तृतीय महाधिवेशन गर्ने निर्णय गर्‍यो । तर त्यही बेलामा पुष १ गतेको काण्ड भयो र तृतीय महाधिवेशन गर्न सक्ने स्थिति रहेन । तर त्यो शाही कदमपछि तुरुन्तै भएको दरभङ्गा प्लेनममा संविधान सभासम्बन्धी विवाद तीव्र रूपमा अगाडि आयो । त्यो बेला नेपाली काङ्ग्रेसले विघटिन संसदको पुनस्र्थापनाका लागि सङ्घर्ष गर्ने निर्णय गरेको थियो र दरभङ्गा प्लेनममा पुष्पलाल र शम्भुराम समेतले पनि त्यही नारा अगाडि सार्नु भयो र संविधान सभाको नारा छाड्नु भयो । त्यसपछि संविधान सभाको एजेन्डामा म एक जना मात्र बाँकी रहेँ । सुरुमा केही दिनसम्म पाल्पाका वी.आर. राईले पनि संविधान सभाको नारालाई समर्थन गर्नु भएको थियो ।पछि उहाँले पनि त्यो समर्थन फिर्ता लिनु भयो । त्यसपछि डा. केशरजङ्ग रायमाझी र पुष्पलाल समेतका साथीहरूले संविधान सभाका नाराका पक्षमा म एक्लै भएकाले त्यो नारा फिर्ता लिन धेरै अनुरोध गर्नु भयो । तर मैले आफ्नो अडान कायम राखेँ । तर केन्द्रीय समितिभन्दा बाहिर जिल्लाबाट आएका प्रतिनिधिहरू निर्मल लामा, कृष्णदास, कमल कोइराला, बलराम उपाध्याय, चित्रबहादुर गुरुङ, शक्ति लम्साल आदिले संविधान सभाको नारालाई दृढतापूर्वक समर्थन गर्नु भयो । त्यसको परिणाम यो भयो कि प्लेनममा संविधान सभाको नाराको पक्षमा २८ वा २९ भोटहरू पर्‍यो भने रायमाझीको प्रस्तावको पक्षमा १७ भोट र पुष्पलाल समेतको प्रस्तावको पक्षमा ८ वा ९ भोट परेका थिए । तर केन्द्रीय कमिटीको बहुमतले प्लेनमले पारित गरेको बहुमतको प्रस्तावलाई अस्वीकार गरेको थियो । त्यसकारण संविधान सभाको पक्षमा आन्दोलन अगाडि बढ्न सकेन ।

दरभङ्गा प्लेनमपछि रायमाझीको राजावादी लाइन खुला रूपले अगाडि आउन थाल्यो । केन्द्रीय कमिटीमा उनको बहुमत थियो । त्यसकारण पार्टीभित्र उनको राजावादी लाइन नियन्त्रण गर्ने कुनै सम्भावना थिएन । त्यसकारण पुष्पलाल, तुल्सिलाल र मैले पार्टीमा विद्रोह गरेर तेस्रो महाधिवेशन गर्ने निर्णय गर्‍यौँ । त्यसका लागि देशव्यापी रूपमा पार्टी कमिटीहरूसँग सम्पर्क गर्ने योजना बन्यो । तेस्रो महाधिवेशनको तयारीको सिलसिलामा प्यूठान र अर्घाखाँची गएर फर्कदा म कपिलवस्तुमा गिरफ्तार भएँ र नौ वर्षभन्दा केही बढी समयसम्म जेलमा नै रहेँ । तेस्रो महाधिवेशनमा बलराम उपाध्याय र रामप्रसाद समेतले संविधान सभाको प्रस्ताव प्रस्तुत गर्नु भयो । तर त्यो पारित हुन सकेन ।

म २०२७ सालको चैत्रमा जेलबाट छुटेपछि छरिएका पार्टी समितिहरूलाई एकीकृत गर्न २०२८ मंसिर २० गते केन्द्रीय न्यूक्लसको गठन भयो र २०३१ सालको आषाढमा चौथो महाधिवेशन सम्पन्न भयो । त्यसले निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य र जनताका प्रतिनिधिहरूद्वारा संविधानको निर्माणको लागि सङ्घर्ष गर्ने प्रस्ताव पारित गर्‍यो । त्यसपछि पार्टी देशव्यापी रूपमा निरङ्कुश राजतन्त्र, पञ्चायती व्यवस्थाको विरुद्धमा सक्रिय भयो । २०४१ सालमा पाँचौँ महाधिवेशन सम्पन्न भयो । त्यसले राजतन्त्र, पञ्चायती तानाशाही व्यवस्था अन्त्य गरेर सत्ता जनतामा हस्तान्तरण गर्न सङ्घर्ष गर्ने तात्कालिक कार्यक्रम बनायो । महाधिवेशनले “राजतन्त्र र पञ्चायती व्यवस्थाको अन्त्य तथा सत्ता जनतामा हस्तान्तरण गरेर गणतन्त्र स्थापनाको लागि सङ्घर्ष तेज गर्ने” नारा पास गरेको थियो । २०४६ सालको जनआन्दोलनमा संयुक्त राष्ट्रिय जनआन्दोलनको निर्माण गरेर अन्य कतिपय वामपन्थी शक्तिहरूसँग मिलेर हामीहरू सङ्घर्षमा सामेल भयौँ । सङ्घर्षको अन्तपछि तुरुन्त नयाँ संविधानको निर्माण गर्ने प्रश्न अगाडि आयो । त्यो अवस्थामा हामीले संविधान सभाको चुनाव भएर नै संविधानको निर्माण हुनु पर्छ भन्ने तात्कालिक कार्यक्रम अगाडि सार्‍यौँ । ने.का. र “वाम” मोर्चामा सामेल भएका सङ्गठनहरूले त्यो नाराको विरोध गरे नै, स्वयं संयुक्त राष्ट्रिय जनआन्दोलनमा पनि त्यसबारे मतभेद पैदा भयो । अन्य सबै पक्षहरूले त्यसको विरोध गरे । त्यही मतभेदका कारणले त्यसको विघटन भयो । हाम्रो पार्टीले एक्लै त्यसका लागि आन्दोलन अगाडि बढायो र त्यो मागमा जोड दिँदै २०४८ सालमा सम्पन्न संसदीय चुनावको बहिष्कार गर्‍यो । अन्य सबै राजनीतिक शक्तिहरूले हाम्रो संविधान सभाको नाराको देशव्यापी रूपमा विरोध गरे । माओवादीले आफ्नो सशस्त्र सङ्घर्ष सुरु गरेपछि पनि संविधान सभाको हाम्रो नारालाई दक्षिणपन्थी संशोधनवादी नारा बताउँदै त्यसका विरुद्ध देशव्यापी रूपमा अभियान चलाए ।

२०५१ सालमा सम्पन्न हाम्रो पार्टीको छैटौँ महाधिवेशनले “राजतन्त्रको अन्त्य भएर सत्ता जनतामा हस्तान्तरण हुनुपर्दछ र संविधान सभाको चुनाव हुनुपर्दछ” भन्ने तात्कालिक कार्यक्रम अगाडि सार्‍यो । हामीले बारम्बार यो कुरामा जोड दिँदै आएका थियौँ कि वैधानिक राजतन्त्र कायम भए पनि सार्वभौम सत्ता राजाका हातमा रहँदासम्म पुनः निरङ्कुश राजतन्त्र कायम हुने सम्भावना रहिरहने छ । ज्ञानेन्द्रको निरङ्कुश शासन कायम भएपछि अन्य सबै राजनीतिक शक्तिहरू पनि संविधान सभाका लागि सङ्घर्ष गर्ने नीति अपनाए । त्यसका लागि ७ दलीय गठबन्धन बन्यो । त्यो बेलासम्म नेकपा (मसाल) र एकताकेन्द्र मिलेर नेकपा (एकताकेन्द्र–मसाल) बनिसकेको थियो । त्यसमा जनमोर्चा, नेपाल सामेल भएको थियो । प्रतिगमनका विरुद्धको आन्दोलनमा चित्रबहादुर के.सी. को नेतृत्वमा बनेको केन्द्रीय संयुक्त सङ्घर्ष समितिले महेन्द्रनगरबाट अभियान सुरु गरेर २०६२ साल चैत्र २४ गते बुटवलमा त्यसको समापन गरेको थियो । त्यसपछि ७ दलीय गठबन्धनद्वारा देशव्यापी रूपमा अनिश्चित कालीन बन्दको कार्यक्रम राखिएको हुनाले हाम्रो अभियानको कार्यक्रमलाई बुटवलमा नै समापन गर्नु परेको थियो । त्यसपछि हामीहरू पुरै नै सात दलीय गठबन्धनको सङ्घर्षको कार्यक्रममा सामेल भयौँ ।

त्यसपछिको इतिहास आम रूपमा थाहा भएको कुरा हो । २०६४ मा पहिलो संविधान सभाको चुनाव, त्यसको पहिलो बैठकमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापनाको निर्णय, संविधानको निर्माण नगरिकन पहिलो संविधान सभाको विघटन, त्यसपछि २०७० सालको मंसिरमा दोस्रो संविधान सभाको चुनाव, २०७२ भाद्र ३० गते संविधान सभाद्वारा संविधान पारित र आश्विन ३ गते औपचारिक रूपमा संविधानको घोषणा तथा संविधान सभाको संसदमा रूपान्तरण तथा औपचारिक रूपमा संविधान सभाको अन्त्य ।

अब संविधान सभाद्वारा संविधान पारित भएको छ । त्यो ऐतिहासिक उपलब्धि हो । तर त्यससँग जोडिएका कतिपय महत्वपूर्ण प्रश्न वा समस्याहरूप्रति हाम्रो ध्यान जानु पर्ने आवश्यकता छ । प्रथमतः अन्तरिम संविधान २००७ ले संविधान सभाको चुनाव घोषणा गरेको थियो र २००९ सालमा नै त्यसको चुनावलाई सम्पन्न गर्ने निर्णय गरिएको थियो । तर २००७ सालपछि त्यो चुनाव हुनका लागि ६५ वर्ष लामो समय किन लाग्यो ? त्यसका लागि को जिम्मेवार छन् ? हाम्रो पार्टी एक मात्र पार्टी थियो, जसले लगातार र दृढतापूर्वक संविधान सभाको चुनाव वा सत्ता जनतामा हस्तान्तरण वा जनताका प्रतिनिधिहरूद्वारा संविधान सभाको निर्माणको पक्षमा लगातार दृढतापूर्वक सङ्घर्ष गरिरह्यो । अन्य पक्षहरूले पनि त्यसबारे स्पष्ट र दृढ नीति अपनाएको भए संविधानको निर्माणका लागि ६५ वर्ष लामो समय कुर्नु पर्दैनथ्यो ।

द्वितीय, अहिले संविधानको निर्माण भयो । त्यो कुनै क्रान्तिकारी संविधान होइन र बुर्जुवा संविधान नै हो । त्यही पनि बुर्जुवा प्रजातान्त्रिक जुन प्रकारको संविधान बन्नु पर्दथ्यो, त्यस प्रकारको बनेको छैन । प्रथमतः संविधान सभाको संविधान निर्माण गर्ने सार्वभौम अधिकारलाई बारम्बार कुण्ठित वा अतिक्रमण गर्ने काम गरियो । अन्तरिम संविधानमा सङ्घीयतालाई सामेल गरेर त्यसको सीमाभित्र रहेर नै संविधानको निर्माण गर्ने वाध्यात्मक परिस्थितिको सृजना गरियो । संविधानको निर्माणको क्रममा पनि विभिन्न देशी वा विदेशी दबाबमा आएर देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता वा राष्ट्रिय हितहरूमा आँच पुग्ने प्रकारका कैयौँ प्रावधानहरू त्यसमा सामेल गरिएको छ । त्यो अवस्थामा त्यसलाई प्रजातान्त्रिक रूप दिनका लागि अझ लामो सङ्घर्ष गर्नु पर्ने आवश्यकता हुने छ ।

तृतीय, संविधान जारी भइसकेपछि पनि देश कैयौँ प्रकारका अन्तर्विरोध र सङ्कटहरूमा उभिएको छ । राजावादीहरूले राजतन्त्रको पुनस्र्थापनाका लागि प्रयत्न गरिरहेका छन् । धर्मनिरपेक्षतालाई संविधानमा सामेल गरिएको भए पनि स्पष्टीकरणद्वारा सीमित वा कुण्ठित गर्ने काम गरिएको छ । देशलाई हिन्दू राष्ट्र बनाउने दिशामा पनि प्रयत्नहरू जारी छन् । मधेशवादीहरूको देशलाई टुक्राउने प्रकारका पृथकतावादी गतिविधिहरू कायम छन् । पश्चिममा जातीय आधारमा प्रदेशको निर्माण लागि थरुहट आन्दोलन चलिरहेको छ । अहिलेको संविधानमा जातीय आधारमा कुनै प्रदेशको निर्माण नगरिएता पनि थरुहट प्रदेशको निर्माणको लागि दवाव लगातार बढिरहेको छ । देशको कुनै एक स्थानमा जातीय आधारमा प्रदेशको निर्माण गरियो भने त्यसको असर देशव्यापी रूपमा पर्ने छ र अन्यत्र पनि जातीय आधारमा प्रदेशहरूको निर्माणका लागि माग वा आन्दोलनहरू बढ्न थाल्नेछन् । त्यसरी अहिले चलिरहेका मधेशवादी, थरुहट आन्दोलनलाई सही प्रकारले समाधान र नियन्त्रण गरिएन भने त्यसको परिणामस्वरूप देशमा जातीय र क्षेत्रीय विग्रह र राष्ट्रिय विखण्डनको गम्भीर स्थिति उत्पन्न हुने छ । माओवादीहरूले संविधान र देशमा कायम भएको गणतन्त्र समेतलाई असफल पार्न आन्दोलनका कार्यक्रमहरू अगाडि बढाउने प्रयत्न गरिरहेका छन् । उक्त कारणहरूले गर्दा संविधान बने पनि लोकतन्त्र, गणतन्त्र तथा राष्ट्रियता, सार्वभौमिकता र अखण्डताको रक्षाका समस्याहरू गम्भीर रूपमा हाम्रा अगाडि उभिएका छन् ।

हामीले बारम्बार यो स्पष्ट गर्दै आएका छौँ कि अहिले देशमा जुन प्रकारको संविधान निर्माण भएको छ र गणतन्त्रको स्थापना भएको छ, त्यसद्वारा देशमा वास्तविक अर्थमा पूँजीवादी प्रजातान्त्रिक प्रणाली पनि कायम हुने छैन र जनताका आधारभूत समस्याको समाधान हुने छैन । त्यसका लागि लामो क्रान्तिकारी आन्दोलनमा जानु पर्ने कुरामा हामीले जोड दिन्छौँ । त्यही पनि तात्कालिक रूपमा अहिले बनेको संविधान पनि लामो सङ्घर्षको परिणाम हो । मूल रूपमा त्यसलाई रक्षा गर्नु पर्ने वा त्यसको आधारमा गणतन्त्रलाई सुदृढ गर्नु पर्ने कार्यलाई गम्भीर रूपमा लिनु पर्ने आवश्यकता छ । अहिले देशको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा पनि जुन गम्भीर प्रकारका खतराहरू देखा परिरहेका छन्, तिनीहरूका विरुद्ध पनि उच्च प्रकारको सतर्कता र ऐक्यवद्धताको आवश्यकता छ । एकातिर, देशभित्रका विभिन्न राजनीतिक शक्तिहरूका ढुलमूल, अवसरवादी र सम्झौतापरस्त नीतिहरू, देशमा बढिरहेका जातिवादी, क्षेत्रीयतावादी (मधेशवादी), राजावादी र वामपन्थी सङ्कीर्णवादी गतिविधिहरू र अर्कातिर, विदेशी हस्तक्षेपकारी र षडयन्त्रहरूका कारणले पनि लोकतन्त्र, गणतन्त्र, राष्ट्रियता समेतका विरुद्ध गम्भीर प्रकारको खतराहरू छन् । संविधानको निर्माणबाट प्रसन्न हुने बेलामा ती सबै खतराहरूलाई हल्का रूपमा लिनु वा तिनीहरूको उपेक्षा गर्नु गम्भीर गल्ती हुने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK