मलेसियामा जगदीशरामको कहर

ENGLISH

NRN GLOBAL

मलेसियामा जगदीशरामको कहर

29 July, 2017 | Sandeep Bhattarai | 665 Views | comments

जगदीशरामवैदेशिक रोजगारको सिलसिलामा मलेसियामा ४ वर्ष ५ महिना बिताएर सोमबार (साउन ८ गते) नेपाल फर्कंदा बैतडी गोकुलेश्वर–५ का जगदीशराम लोहारको साथमा सुटकेस थिएन।

न त हातमा झोला नै थियो। उनीसँग पर्स, पैसा पनि थिएन। शरीरमा लगाएको सेतो टिसर्ट, हाफपाइन्ट र चप्पलमा थिए। उनले कमाएको र साथमा ल्याएको सम्पत्ति यत्ति थियो । त्यो पनि उनको आफ्नै कमाइले किनेको भने होइन। ६ महिना जेल बस्दा प्रहरीले लगाउन दिएको हो।

‘मलेसियाको जेलमा अँध्यारो कोठामा राखिन्थ्यो। कठोर यातना दिइन्थ्यो। पानीसम्म पेटभरि खान दिइँदैन्थ्यो। पियास मेटाउन ट्वाइलेटको पानी पिउँथ्यौं। बाँच्नका लागि यो नगरी सुखै थिएन।’

‘म यही (फोटोमा हेर्नुहोस) सेत सर्ट, हाफ पाइन्ट र चप्पल लगाएर आएको हुँ,’ सोमबार नेपाल फर्केपछि नयाँ बसपार्कस्थित एक होटलमा भेटिएका लोहार भन्दै थिए, ‘रोल्पाको एक दाइ त कट्टु (पेन्टी) मात्र लगाएर मलेसियाबाट काठमाडौंसम्म आउनुभएको थियो। यातनाले गर्दा उहाँको मानसिक स्थिति अलि बिग्रेको छ। विमानस्थलबाट बाहिर निस्केपछि उहाँ कहाँ जानु भयो, थाहा छैन।’

लोहारसँगै सोमबार ४३ जना नेपाली हिमालयन एयरलाइन्समार्फत काठमाडौं आएका थिए। सबैको अवस्था लोहारकै जस्तै थियो। सबैसँग सम्पत्तिको नाममा शरीरमा लगाएको एकसरो कपडा मात्र थियो। मलेसियाको मेलाका घरफिर्ती केन्द्रमा हवाई टिकट नहुँदा लामो समयदेखि अलपत्र परेका उनीहरूलाई क्वालालम्पुरस्थित नेपाली दूतावासले उद्वार गरी स्वदेश पठाएको हो। साथमा एक पैसा नभएका उनीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति ९ बजे झरेपछि को, कसरी कता गयो कसैलाई कसैको पत्तो भएन।

‘केही साथीले विमानस्थलबाट बाहिरिनेबित्तिकै रुँदै आफ्नो कथा सुनाउँदै बाटोखर्च मागिरहेका थिए,’ लोहारले भने। लोहार भने भाग्यमानी थिए, विमानस्थलमा उनलाई रुन परेन। दाइ र भिनाजु उनलाई लिन विमानस्थल पुगेका थिए। तर उनलाई लिन दाइ र भिनाजु आएको पत्तो थिएन। उनको घर परिवारसँग सम्पर्क टुटेको ६ महिनाभन्दा बढी भएको थियो। जब विमानस्थलमा उनले दाइ र भिनाजुलाई देखे तब उनले आफूलाई थाम्न सकेनन्। अँगालो हालेर रोइदिए।

‘एकछिन त मैले भाइलाई (जगदीश) चिन्नै सकिन। यहाँबाट जाँदा मोटोघाटो थियो, अहिले निकै दुब्लाएछ,’ दाइ जनकले सुनाए।

दाइ र भिनाजुले लोहारलाई विमानस्थलबाट सिधै नयाँ बसपार्कस्थित एक होटलमा लगे। उनले आफ्नो दुःखको कथा सुनाए। त्यसपछि उनी महŒवपूर्ण कामतिर लागे, जसको जिम्मा उनले मलेसियाको घरफिर्ती केन्द्रमा पाएका थिए। त्यहाँ उनलाई दुई साथीले चिठी थमाएका थिए। चिठीमा लेखिएको सन्देश उनले उनीहरूका नेपालमा रहेका परिवारका सदस्यसम्म पुर्‍याइदिनु पर्नेथियो। लोहारले पनि यसैगरी आफू जेलमा रहेको जानकारी आफ्नो परिवारलाई गराएका थिए।

एउटा चिठी थियो महोत्तरी जलेश्वरका राजु मुखियाको। मुखियाले चिठीको साथमा नेपालमा रहेकी श्रीमतीको मोबाइल नम्बर पनि लोहारलाई टिपाएका थिए। लोहारले दाइको मोबाइलबाट फोन गरे। मुखियाकी श्रीमतीले फोन उठाइन, तर उनले फर्काएको जबाफ लोहारले बुझेनन्। एकछिन पछि पुरुषको स्वर आयो। उनी मुखियाका दाइ थिए।

‘भाइ जिउँदै छ कि मरिसक्यो?’ लोहारले आफ्नो परिचयसहित फोन गर्नुको कारण भन्न नभ्याउँदै मुखियाको दाइले मुख खोले। ‘जिउँदै हुनुहुन्छ,’ लोहारले मुखियाको यथार्थ अवस्था बताइदिए। मुखियाका दाइ भक्कानिए।

मुखिया परिवारको सम्पर्कमा नआएको ५ महिना भइसकेको थियो। उनी कहाँ छन्, कस्तो अवस्थामा छन् परिवारलाई पत्तो थिएन। घरफिर्ती केन्द्रमा मुखिया प्रायः लोहारसँग आफ्नो बुबाको विषयमा कुरा गर्थे, उनैको चिन्ता गर्थे। उनले झट्ट मुखियाका बुबालाई सम्झे। ‘दाइ बुबा कस्तो हुनुहुन्छ, भाइले मलेसियामा निकै कुरा गर्नुहुन्थ्यो,’ लोहारले मुखियाको दाइसँग सोधे।

‘बुबा बित्नु भयो,’ जबाफ आयो। छोरा सम्पर्कविहीन बनेपछि मुखियाका बुबाको हृदयघातका कारण केही दिनअघि मृत्यु भएको रहेछ। एकछिनसम्म मोबाइलमा सुक्कसुक्क आवाज आइरह्यो, कति बेला फोन काटिएछ लोहारले पनि पत्तो पाएनन्। फेरि दोहोर्‍याएर फोन गर्ने आँटमा उनमा थिएन।

लोहार २०६९ फागुन १५ गते मलेसिया उडेका थिए। त्यतिबेला उनी २० वर्ष लाग्नै लागेका थिए। सालले अहिले २४ पुगे। घरमा कमाउने कोही थिएन। परिवारमा आमा, बाबु, दाइ, बहिनी, पत्नी थिए। उनले प्रेम विवाह गरेका थिए। दुई छाक टार्न पनि हम्मेहम्मे पर्ने भएपछि मलेसिया जाने सोच उनमा पलायो। गाउँमै एजेन्ट थिए। एजेन्टले ललितपुरको कुपन्डोलस्थित अल खालिद म्यानपावरमा ल्याएर बुझाइदिए। एक लाख १५ हजार बुझाएपछि म्यानपावरले उनलाई मलेसिया पुर्‍याइदियो।

काठमाडौंबाट उनीसँग चारजना उडेका थिए। मलेसिया जोहरबारु सिडी गार्डेनमा काम लगाइदिने भन्दै उनीहरूलाई म्यानपावरका कर्मचारीले पठाएको थियो। मलेसिया उड्नुअघि उनीहरूलाई सो म्यानपावर कम्पनीले काम गर्ने बगैंचा यही हो भन्दै निकै सुन्दर बगैंचाको फोटो देखाएका थिए। उनीहरू फोटो हेरेर दंग थिए। काम भने बगैंचामा फुल रोप्ने, गोड्ने, औषधि हाल्ने भनिएको थियो। तलब मासिक १५ सय मलेसियन रिंगिट भनियो। ‘यहाँ (देशमा) केही काम पाइनँ, त्यसपछि मलेसिया जाने निर्णय लिएको थिएँ,’ दस कक्षा पढेका लोहारले विगत सम्भि्कए।

मलेसियाको क्वालालम्पुरस्थित विमानस्थलमा झर्नेबित्तिकै उनका दुःखका दिन सुरु भए। विमान अवतरण भएको १४ घन्टासम्म उनीहरूलाई लिन कोही आएन। १४ घन्टा पानी पनि नपिई उनीहरू विमानस्थलको चिसो छिडीमा बिताए। भोक र प्यासले ब्याकुल बनेका उनीहरूलाई लिन १४ घन्टा बितेपछि बल्ल एक जना झुल्किए। बाटोमा उसैले खाना खुवायो। क्वालालम्पुरबाट गाडीमा चार घन्टा हिँडेपछि काम गर्ने ठाउँमा उनीहरू पुगे। त्यो ठाउँ थियो– जोहरबारु सर्किट। जोहरवार सिटी गार्डेनमा उनीहरूले काम गर्नुपर्ने थियो।

‘यही हो तिमीहरू बस्ने कोठा,’ चिनियाँ मालिकले ढोका खोल्दै उनीहरूलाई पस्न आग्रह गरे। कोठाभित्र पूरै माकुराको जालो थियो। एक प्रकारको गन्ध आइरहेको थियो। कोठामा राखेको बेड पनि मैलोे थियो। बेडमाथि एकपत्र धुलोले ढाकेको थियो। कोठा डरलाग्दो थियो। ढोकाभित्र पस्न पाइला के अघि बढेको थियो गोमन सर्प खाटबाट बाहिर निस्कियो। उनीहरू तर्सिए र हत्तनपत्त बाहिर भागे। ‘सुत्ने कोठामा हामीभन्दा लामो सर्प देखेपछि डराएर रोयौं,’ लोहारले पुराना दिन सम्झिएँ।

बगैंचाको चिनियाँ मालिकाले नेपाली नबुझ्ने, उनीहरूले चिनियाँ भाषा नबुझ्ने। दुवैले टुटेफुटेको अंग्रेजीमा आफ्ना कुरा राख्थे। ‘नडराउ, सर्पले टोक्यो भने फोन गर, एउटा सुई लगाएपछि ठीक हुन्छ। मरिँदैन,’ उनीहरू आत्तिएको देखेपछि मालिकले भन्यो।

‘यो ठाउँमा बस्दै बस्दैनौं,’ उनीहरूले भने, ‘हामीलाई फोन दिनुस् एजेन्टसँग कुरा गर्छौं।’

त्यसपछि मालिकले चिनियाँ भाषामा गाली गर्न थाल्यो। मुख पनि रातोरातो बनायो, उनीहरूलाई खाउँला झै गर्‍यो। उसले बोलेको उनीहरूले केही बुझेनन्। रिस उठेपछि मालिक चिनियाँ भाषामा बर्बराउने रहेछ। त्यो दिन उनीहरूलाई अलिकति खानेकुरा छोडेर मालिक गयो। उनीहरूलाई त्यही सर्प भएको कोठामा नबसी सुखै भएन। उनीहरूले सर्प धपाएर कोठा सफा गरे।

‘हामीलाई कोठा र विस्तारा यस्तो दिएको थियो, जुन भिकारीको पनि त्यस्तो हुँदैन,’ लोहारले भने।भोलिपल्ट मालिक आयो। सोध्यो, ‘काम गर्ने कि घर जाने?’ उनीहरूको एउटै स्वर थियो, ‘घर जान्छौं।’

‘कम्पनीलाई फाइन तिर्नुपर्छ, त्यसै जान पाइन्छ,’ मालिक जंगियो। ‘कति तिर्नुपर्छ,’ उनीहरू पनि कड्किए। ‘अहिले म बताउँदिन, तिमीहरूको एजेन्टसँग कुरा गरेर भन्छु,’ मालिकले भन्यो। र, ऊ त्यहाँबाट हिँड्यो।

दुई–तीन हजार रिंगिट मात्र फाइन मागेको भए पनि उनीहरूले तिर्नसक्ने अवस्था थिएनन्। घरबाट ब्याजमा पैसा झिेकर उनीहरू मलेसिया पुगेका थिए। त्यत्रो पैसा घरबाट मगाउन आँट नआएपछि दुःख सुख भोग्दै काम गरौं भन्ने निष्कर्षमा उनीहरू पुगे।

बगैंचामा विभिन्न प्रकारका सर्प आउँथे। सर्प मात्र होइन गोहोरो पनि आउने। उड्ने सर्प पनि आउँथ्यो। उनीहरू बस्ने भुइँतला थियो। सर्प सजिलै छिर्न सक्ने। त्यो कोठामा पहिला इन्डोनेसियाका कामदार बस्थे रे। तिनीहरू सर्पको डरले कोठा मात्र होइन कामै छोडेर भागेका रहेछन्। लामो समय खाली रहेको उक्त कोठा सर्पको लागि राम्रो आवास बनेको थियो। त्यसपछि लोहार र साथीहरू पुगेका थिए।

‘सर्प र गोहोरा अति नै आउन थालेपछि हामीसँगै गएको एक साथी २८ दिनमै घर फर्कियो। उसले सर्प गोहोराको फोटो घर पठाएपछि घरबाट उसलाई तुरुन्त झिकाएका थिए,’ लोहारले सुनाए, ‘सर्पदेखि डराएर हामीले धेरै रात रोएर बितायौं।’

लोहारलाई नेपालबाट पठाउँदा एजेन्टले बिनाजलान कार्ड (कार्यालयको कार्ड) बाहिर ननिस्कनु भनेको थियो। यो कार्ड साथमा भएपछि प्रहरीले पक्राउ गर्दैनथ्यो। पासपोर्ट त मलेसिया पुग्नेबित्तिकै मालिकले राखे। लोहारलाई ३२ महिना काम गर्दासम्म मालिकले जलान कार्ड दिएन। पासपोर्टको फोटोकपीसमेत दिएन। कार्ड नभए पनि लोहारलाई बाहिर निस्कनुपर्थ्यो। मालिकले नै पठाउँथ्यो। रासन लिन जानुपर्थ्यो। ‘हामी डराइडराइ जान्थ्यौं। कहिलेकाहीं बिरामी हुँदा पनि बाहिर जानुपर्थ्यो। धेरै हिम्मत बुटुलेर जानुपर्थ्यो,’ लोहारले भने।

साथमा जलान कार्ड नहुँदा दुईपटक प्रहरीले उनलाई पक्राउ गर्‍यो। एकपटक प्रहरीलाई साढे सात सय रिंगिट दिएर उनी उम्के। अर्कोपटक मालिक आएर निकालेका थिए। यस्तो हुँदा पनि मालिकले लोहारलाई जलान कार्ड भने दिएनन्।

लोहार ३२ महिना त्यही कोठामा बसे। सर्प आउँथे, उनीहरू मार्थे। ‘सर्प अनगिन्ती मारियो। दिनमा ११–१२ वटा मारिन्थ्यो। ३२ महिनामा कति मारियो होला। यतिधेरै सर्प कहाँबाट आउँथे, हामी छक्क पर्थ्यौं। कहिले हातमै आउँथे। भगवानको कृपाले कुनै पनि सर्पले टोक्न भने भ्याएन,’ उनले लामो सास लिए। अहिले पनि उनलाई ती सर्प सम्झँदा डर लाग्छ।

बगैंचामा ठूलठूला रुख ढालिएका थिए। घाँस उर्मेको थियो। त्यसैले पनि सर्पका लागि त्यो बगैंचा बासस्थान बनेको थियो। उनीहरूले त्यहाँ पल्टेका मुढा पन्छाउनु पर्थ्यो। तर मालिकले हातमा लगाउन ग्लोब दिँदैनथ्यो। कहिलेकाहीं मुढा उठाउँदा सर्प समातिन्थ्यो, उनीहरू रुँदै भाग्थे। घुँडासम्म आउने बुटचाहिँ मालिकले दिएको थियो।

उनीहरूलाई नेपालमा भनेअनुसार मलेसियामा काम दिइएन। नेपालमा हुँदा काम गर्ने बगंैचा भनेर जुन ठाउँ देखाइएको थियो उनीहरूलाई त्यहाँ लगिएन। कम्पनी छोडेर भाग्यो भने यस्तो हुन्छ, त्यस्तो हुन्छ भन्ने सुनेका उनीहरू जति दुःख पाए पनि त्यहीं काम गरेर बसेका थिए। तीन वर्षको करारमा उनीहरू गएका थिए। जाँदा मासिक एक हजार ५ सय रिंगिट दिने भनिए पनि त्यहाँ पुगेपछि मालिकले ६ सय ५० मात्र दिए। ६ सय ५० रिंगिटमा घर परिवारको खर्चै धानिएन।

‘पूरै मलेसियामा ९ सय रिंगिट बेसिक हुँदा पनि मालिकले हामीलाई महिनाको ६ सय ५० मात्र दिएको थियो। एजेन्सीलाई भन्यौं भने कुट्छु भनेर धम्की दिन्थ्यो। त्यसपछि हामीले हाम्रो पीडा कसैलाई पनि भनेनौं,’ लोहारले सुनाए।

बढी बोल्यौ, काम गरेनौं, घर जान्छु भन्यौं भने पासपोर्ट पोलिदिन्छु भनेर मालिकले उनीहरूलाई तर्साउने गर्थ्यो। एजेन्टलाई फोन गर्‍यर्ौं भने पनि यस्तो उस्तो गर्छु भनेर धम्की दिन्थ्यो, त्यसैले एजेन्टलाई समेत उनीहरूले फोन गर्न छोेडेका थिए। बगंैचाको फूल गोड्ने, औषधि हाल्ने, मल हाल्ने, पानी हाल्ने काम उनीहरूको थियो। काम सजिलो थियो तर सर्प र गोहोराको डर थियो।

‘सर्पले टोक्ला भन्ने पीरले दिनप्रतिदिन हाम्रो शरीरको रगत घट्दै गएको थियो,’ उनले भने। एकपटक किताब राखेको दराजमा समेत गोमन सर्प छिरेछ। त्यसलाई मार्न तीन जना लाग्नुपरेको थियो। मालिक भने मान्छे भएर सर्पसँग डराउने भन्दै उनीहरूलाई नै गाली गर्थ्याे। सधंै उनीहरूलाई सर्पले टोकेर मरिएलाकि भन्ने डर मात्र भयो। सर्पको डरले सँगै गएकामध्ये एकले पुगेको २८ दिनमा, दोस्रोलेे ६ महिना र तेस्रोले १४ महिनामा कम्पनी छोडेका थिए।

‘दुःख धेरै भएको थियो। पैसा पनि कमाइएन, तर ज्यान भने सधै जोखिममा रह्यो। मेरो घरको अवस्था सारै दयनीय भएर मचाहिँ भाग्न सकिन। लामो समय त्यहाँ एक्लै काम गरे। धेरै रात मैले रोएरै बिताएँ। त्यति हुँदा पनि कम्पनीले पैसा बढाएन। बेसिक ९ सय भनेको थियो तर दिँदैन्थ्यो।

लामो समयसम्म लोहार सर्प आउने कोठामा एक्लै बसे त्यहाँ काम गर्न नसक्ने अवस्था भएपछि ३२ महिनामा उनले उक्त कम्पनी छाडेर भागे। उनको पासपोर्ट चिनियाँ मालिकसँगै रह्यो। उनी अवैध बने।

जोहरबारुमा एउटा नेपाली होटल थियो। लोहार त्यहीं पुगे। नेपालीले त्यो होटल चलाएका थिए। उनले होटलका दाइलाई उनले आफ्नो कथा सुनाए। ‘अब मलाई काम खोजिदिनुपर्‍यो,’ लोहारले भने। होटलवालाले काम खोजिदिए।

लोहारले युनपिङ भन्ने कुखुरा फाराममा काम सुरु गरे। त्यहाँ उनी दुई महिना बढी टिक्न सकेनन्। त्यहाँ पनि मालिकले कबुल गरेअनुसार पैसा दिएन। कुखुरा फाराममा उनलाई जाली र खोर बनाउन लगाइएको थियो। ‘मालिकले दुई हजार रिंगिटभन्दा बढी तलब दिन्छु भनेको थियो तर, दिएन,’ उनले आफूले भोग्नुपरेको हन्डर सुनाए। मालिकले मात्र महिनाको १२ सय रिंगिट दियो। पुलिसले लिने पैसा उनको तलबबाट काट्छु भनेपछि लोहारले त्यो कम्प्नी पनि छोडे। उनी अवैध थिए। पुलिसले फेला पारे उनी पक्राउ पर्थे।

त्यसपछि जोहरबारुकै कुलवाङ भन्ने ठाउँमा पुगे। त्यहाँ तरकारीबारीमा काम पाए। त्यहाँ विभिन्न तरकारी र मेवा खेती हुन्थ्यो। मालिक चिनियाँ नै थियो। ‘काम अन्त नपाउने, झन् अवैध भएपछि जस्ले पनि ठग्न खोज्ने। बाध्य भएर तरकारी फाराममा काम गर्न थालें,’ लोहार दुःखका दिन सम्झँदै भने। त्यहाँ पनि सर्प उत्तिकै आउने। यो कुरा उनलाई पहिल्यै थाहा थियो। तर उनीसँग अर्को विकल्प थिएन। बाध्य भएर तरकारीखेतीमा एक महिना काम गरे। उनलाई मालिकले १२ सय रिंगिट दिएको थियो। खान र बस्न मालिकले नै दिएको थियो।

‘तरकारीबारीमा पनि सर्प यति आउनेकि टिक्नै नसकिने भयो। सबै कामदार आएको एकदुई महिनामा भाग्ने। म पनि एक महिनापछि त्यहाँबाट भागें,’ उनले भने।

मलेसिया जाँदा जहाजमा एक नेपालीसँग उनको चिनजान भएको थियो। अचानक एक दिन ती नेपाली एक रेष्टुरेन्टमा भेटिए। उनी सिलिङगर श्रीमाङमामा काम गर्ने रहेछन्। त्यसपछि उनैले लोहारलाई सुँगुर फाराममा काम लगाइदिए। यो फाराममा उनले १५ महिना काम गरे। ९ सय रिंगिट तलब दिएको थियो। ओटी गर्दा १२ सय हुन्थ्यो। ‘घर फर्कन पैसा जम्मा गर्न सुगुर फाराममा काम गरेको थिएँ,’ उनले भने। सुँगुरलाई दाना दिने, नुवाइधुवाइ गर्ने, औषधि दिने, सुँगुर मार्ने, काट्ने, मासु प्याक गर्ने काम उनले गर्नुपर्थ्यो।

सुँगुर फाराममा काम गर्दा विस्तारै उनलाई रोगले च्याप्न थाल्यो। खुट्टाको मासु दुख्ने रोग। साहुले उपचारमा धेरै सहयोग गर्‍यो। तीनचार ठाउँमा उपचार गर्नसमेत लग्यो। रोग केही देखिएन तर उनलाई पिडा भइरह्यो। ‘तँलाई घर जान मन छ भने मलाई नढाँट। अर्को पटक पासपोर्ट बनाएर आइजा,’ लोहारको पीडा महसुस गरेपछि मालिकले एक दिन भने। फर्कनका लागि पैसा नभएकाले उनले जबाफ फर्काएनन्।

त्यसपछि घर फर्कने भाडा जुटाउन थप तीन महिना काम गर्ने सोच बनाए लोहारले। औषधिले राम्रो नभएपछि मालिकले उनलाई एकपटक थाई मसाज गरेर हेर्न सुझाए। उनी मसाज केन्द्रमा जान थालेका थिए। पीडा केही हल्का पनि भयो। एक दिन मसाज गरेर फर्कंदा उनलाई मलेसिया प्रहरीले समात्यो।

‘कुन देशबाट आएको,’ प्रहरीले सोध्यो। ‘नेपाली हुँ,’ लोहार भने। प्रहरीले थप सोध्यो, ‘पासपोर्ट खोई?’ उनले जबाफ दिए, ‘कोठामा छ।’ मालिकले प्रहरीले पासपोर्ट माग्यो भने कोठामा छ भनेर झुठो बोल्नु भनेर सिकाएको उनले नागरिकलाई सुनाए। प्रहरीले फेरि सोध्यो, ‘कुन कम्पनी हो?’ उनले सुँगुर फारामको नाम बताए। प्रहरीले सिधै हत्कडी लगाएर लग्यो।

प्रहरीको गाडी पिडीलुकुढ प्रहरी चौकी पुगेर रोकियो। त्यो दिन सोधपुछमै बित्यो। अर्को बिहान अर्को कोठामा सारियो, जहाँ ४० जनाजति थिए। त्यहाँ १२ दिन राखियो। चौकीमा खाना पेटभर मिल्दैनथ्यो। बाँच्नलाई पुग्ने गरी अड्कलेर खाना दिइन्थ्यो। राम्रोसँग खान नपाएपछि उनी चक्कर लागेर लड्न थाले। तर प्रहरीले त्यसलाई नाटक सम्झ्यो। प्रहरीले दुईपटक निर्घात पिट्यो।

पटकपटक चक्कर लागरे ढल्न थालेपछि एक दिन प्रहरीले लोहारलाई अस्पताल लग्यो। डाक्टरले शारीरिक रोग केही नभएको मानसिक चिन्ताका कारण चक्कर लागेको बताए। अस्पतालबाट निकालेर उनलाई फेरि प्रहरीचौकीमा पुर्‍याइयो।

चौकीमा लगेको १२ दिनपछि लोहारलाई उच्च न्यायालयमा लगियो। उनलाई न्यायाधीश सामुन्ने राखियो। त्यसपछि सुरु भयो सोधपुछ। ‘कति साल भयो मलेसिया आएको?, कम्पनीबाट किन भागेको?’

उनले सबै कुरा बताए। त्यसपछि न्यायाधीशको फैसला आयो– ६ महिना जेल र एक कोर्रा।

अदालतबाट बाहिर निस्केपछि हत्कडी लगाएर प्रहरीले जेलमा लग्यो। जेल मेलाका सिङगाई उडानमा थियो। उनले त्यो जेलमा १ सय २० दिन बिताए। त्यसपछि उनले दुई महिना घरफिर्ती केन्द्रमा बिताए। ‘जेलमा धेरै दुःख भयो। धेरैपटक प्रहरीले कुटे,’ उनले सुनाए।

जेलमा पहिलो दिन अँध्यारो कोठामा राखियो। चिसो भुइँमा सुत्नुपर्‍यो। पानी पिउन एउटा गिलास मात्र थियो। पानी एकपटकमा एक कप मात्र पाइन्थ्योे। २४ घन्टामा तीनपटक। ‘उनीहरूले दिएको पानीले प्यास मेट्दैनन्थ्यो, ट्वाइलेटको पानी पिएर तिर्खा मेटाउनु पर्थ्यो। बाँच्नका लागि यो नगरी सुखै थिएन,’ लोहारले भने।

ट्वाइलेटको पानी नपिएको कुनै दिन रहेन। अरुको अवस्था पनि त्यस्तै थियो। उनलाई सात दिन अँध्यारो कोठामा राखियो। त्यसपछि अर्को कोठा (सी ब्लक) मा सारियो। त्यहाँ उनलाई कुहिएको माछा, मरेको कुखुरा खान दिइन्थ्यो। त्यो पनि थोरै। ‘सी’ ब्लकमा विदेशीलाई मात्र राख्ने रहेछन्। ब्लक ‘ए’ मा स्थानीयलाई राख्ने। तर मान्छे बढी भएकाले सबैलाई भद्रगोल तरिकाले राखिएको थियो। लोकलको दादागिरी चल्ने, उनीहरूले विदेशीलाई धेरै कुट्थे।

‘सी ब्लकमा सारेको पहिलो दिन हामीलाई तातो घाममा लुगा खोल्न लगाएर कसरत गर्न लगाए। कसरत यति कडा हुन्थ्यो कि नसकेर बान्ता हुन्थ्यो। तातो घाम त्यसमाथि गिटीमात्र राखेको ठाउँमा नांगो बनाएर कुहिनाले टेकेर घसि्रन लगाइयो। कुहिनाबाट तपतप रगत चुहिन्थ्यो, घसि्रन छोड्यो कि ढाड र टाउकोमा बुट बजारिन्थ्यो। एक सय मिटरको दुरीमा चारपटक ओहोरदोहोर गर्नुपर्थ्यो। ५० गन्दा सय मिटर वारपार गरिसक्नु पर्थ्यो,’ मलेसियाली जेलको यातना उनले सुनाए।

अपहरण मुद्दामा ३० वर्ष जेल सजाय पाएका ललितपुरका एकजना त्यहीं जेलमा थिए। मेरो दुःख देख्न नसकेर उनले सम्झाइरहेका थिए। ‘हरेस नखाऊ भाइ हामी नेपालीको छोरा हो, हिम्मत गर, विस्तारै विस्तारै गर। अलिकति कुटाइ खाएर मरिँदैन। यो जेलमा यस्तै दुःख छ, म पनि केही गर्न सक्दिनँ, हेर्न मात्र सक्छु,’ ती नेपालीले लोहारलाई आँट दिए।

यातना सहन नसकेपछि लोहारलाई पटकपटक बान्ता भयो। पेटमा केही नभएपछि पहेंलो पानी मात्र निस्केको थियो। यस्तो कसरत कसैलाई दुई महिनासम्म त कसैलाई एक महिनासम्म गर्न लगाउँथे। प्रहरीले गिटीमा पचास पटक पुसअप गर्न लगाउँथे।

जेलमा बसेको ५६ दिनमा एउटा सूचना आयो। सूचनामा थियो भोलि कोर्रा खानेको नाम थियो। कोर्रा खाने सबैलाई अघिल्लो दिन नै एउटा कोठामा राखिने रहेछ। कोर्रा हान्दा कसैको त रगत नै बग्छरे। कोही बेहोस हुने। तर औषधि दिइँदैन। कोर्रा लगाउँदा दायाँबायाँ हेर्न पनि दिइँदैन। कम्मर, हात र खुट्टामा बेल्टले बाधिन्छ। टाउको अड्काउने एउटा प्वाल हुन्छ। त्यसमा टाउको अड्काएर बसेपछि पछाडिबाट पुठामा कोरा लगाइन्छ।

‘जब मलाई कोर्रा हाने त्यसपछि मैले केही देखिनँ। यति दुख्थ्यो किे वरिपरि पूरै अँध्यारो हुन्थ्यो। कोर्रा लगाएपछि प्रहरीले समातेर मलाई एउटा कोठामा लगेर फ्याँके। त्यहाँ रहेका नेपाली दाजुभाइ दौडिँदै आएर ट्वाइलेटको पानी दिए। त्यसपछि अलि सास आयो,’ लोहारले पुठामा कोर्रा हान्दा बनेको डाम देखाए।

मलेसियाको जेलमा दिइने यातना यत्तिमै सकिँदैन। त्यहाँ नांगै बनाएर उठबस गर्न लगाइन्छ। जेल र क्याम्पमा छिरेको पहिलो दिन यस्तो गरिन्छ। जेलका प्रहरीले बिनाकपडा पुसअप, एकअर्काको काँधमा हात राखेर नाच्न लगाउँछन्। नगरे लात हान्छन्। आधा घन्टाभन्दा बढी समय यसरी नै नाच्न लगाउँछ। कुनै प्रहरीले त डेढ घन्टासम्म नचाउँछन् रे। ‘लाज त लाग्छ, तर के गर्ने बच्नका लागि गर्नैपर्‍यो। नत्र छाती, पेटमा कुट्छन्,’ उनले भने। यस्तो यातना लोकललाई भने दिँदैनन्।

नेपाली र हिन्दुलाई अझ बढी यातना दिने लोहार सुनाउँछन्। हिन्दु भनेर जानेपछि जेलमा जबरजस्ती गाईको मासु खान लगाइन्छ। ‘गाईको मासु पनि खान लगाए। खाँदिन भन्दा तेरो बाउँको घर हो भनेर कुटे, अनि खाएँ,’ उनका आँखा फेरि रसाए।

जेलमा पाँच दिन माछा, एक दिन अण्डा र एक दिन कुखुराको मासु दिइन्थ्यो। तर मासु कुहिएको कारण गनाएको हुन्थ्यो। ६ महिना जेल बस्दा एक छाक पनि उनले पेटभर खान पाएनन्। एक छाकमा चार गास जति दिन्थे। त्यो पनि एकदम फोहोर। ‘एक दिन माछामा किरा भेटेपछि मैलै खान छोडिदिएको थिएँ,’ उनले दुःखका क्षण सम्भि्कए।

जेलमा उनले ११ महिनादेखि रहेका नेपाली भेटेका थिए। लोहारले गत अप्रिलमा खोटाङ्का दिलकुमार श्रेष्ठसँग घरमा चिठी पठाएका थिए। श्रेष्ठले नेपाल आएपछि उनको घरमा फोन गरेर चिठी पढेर सुनाइदिएका रहेछन्। त्यसपछि उनी जेलमा परेको परिवारले थाहा पाएका थिए। अर्को पाकिस्तानी साथीलाई पनि फोन नम्बर दिई उनले पठाएका थिए। उनले पनि पाकिस्तानबाट फोन गरेर परिवारलाई जानकारी दिएको रहेछन्। त्यसपछि नेपालमा रहेको उनको परिवारले मलेसियास्थित नेपाली दूतावासलाई सम्पर्क गरेको थियो। उनको दाजु र भिनाजु निरन्तर दूतावासको सम्पर्कमा रहे।

दूतावासका कर्मचारी गत असार २८ गते मेलाकास्थित घरफिर्ती केन्द्रमा पुगेका थिए। ती कर्मचारीले लोहारलाई त्यहीं भेटाएका थिए। ‘प्रहरीले अघिल्लो दिन नै भोलि तिमीहरूको दूतावासको मान्छे आउँदै छन्, केही भन्यौं भने राम्रो हुँदैन भनेर थर्काएका थिए। हामीले दूतावासका मान्छेसँग सबै राम्रो छ भन्यौं,’ लोहारले भने।

जेल र क्याम्पमा धेरै नेपाली बिरामी अवस्थामा छन्। बिरामी भएकालाई औषधि पनि दिँइदैन। ‘औषधि मागे यो तेरो घर हो, तेरो सरकारले पैसा दिन्छ भन्छन्,’ उनले सुनाए। उनका अनुसार त्यहाँ रहेका प्रायः नेपालीलाई गोप्य स्थानमा चिलाउने रोग लाग्छ। जेलमा अहिले ७० जना नेपाली रहेको दाबी उनको छ।

उनी नेपाल आउँदा दुईजनाको चिठी ल्याएका थिए। एक जनासँग उनको कुरा भइसक्यो। अर्को चिठी श्रीलंकन साथीको छ। उनको नाम हो प्रियनकारा कुमारा हो। लोहारलाई अंग्रेजी आउँदैन, कुमारा परिवारले नेपाली बुझ्दैनन्। यसकारण कुमाराले उनलाई भारतमा बस्ने आफ्नो साथीको नम्बर दिएका छन्। उनले हिन्दी बोल्न जानेका छन् रे। उनले काठमाडौं आइपुगेकै दिन कुमाराले दिएको नम्बरमा कल गरे तर सम्पर्क हुन सकेको छैन।

‘फोन लागेदेखि ढुक्कसँग घर (बैतडी) जान हुन्थ्यो,’ लोहारले भने। फोन लागेन भने घर नजाने त?

‘एक पटक न एकपटक कसो नलाग्ला र,’ उनी हाँसे।

आजको नागरिकमा खबर छ ।

अलपत्र परेका ४३ जना युवा मलेसियाबाट नेपाल फिर्ता (सूचीसहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK