‘ब्वाइज कट काट्थेँ, साइकल कुदाउथेँ’ : बसुन्धरा भुसाल

ENGLISH

ENTERTAINMENT

‘ब्वाइज कट काट्थेँ, साइकल कुदाउथेँ’ : बसुन्धरा भुसाल

7 July, 2017 | Sandeep Bhattarai | 765 Views | comments

बसुन्धरा भुसाल

२००७ साल फागुन महिनाको शिव रात्रीमा काठमाडौं, क्षेत्रपाटीमा मेरो जन्म भयो । हाम्रो परिवार मध्यम वर्गीय हो । बुबा दरबारमा सरकारको ‘डिट्ढा हाकिम’ हुनुहुन्थ्यो । सिंहदरबार नजिकै रहेको डब्लु.बीएस स्कुलबाट नर्सरीदेखि ३ कक्षासम्म पढे ।

त्यसपछि लैनचौरमा रहेको कन्या हाई स्कुलमा कक्षा ८ सम्म पढेँ । कला क्षेत्रमा लागेकाले धेरै व्यस्त भइन्थ्यो । नेपाल युवक माध्यमिक विद्यालय, क्षेत्रपाटीबाट २०२६ सालमा एसएलसी दिए । आई.ए. चाँही आरआर कलेजमा भर्ना भएँ । तर, अध्ययन पूरा हुन पाएन ।

कलाकारितामा लाग्दा सिस्नो पानी लगाइयो
मेरो परिवार अलि कन्जरभेटिभ खालको थियो । कला क्षेत्रप्रति एकदम ‘कन्जरभेटिभ’ सोच राख्नु हुन्थ्यो । कलाकारिता, नाँचगानमा लागे पछि ‘छोरी बिग्री पो हाल्छे कि ?’ भनेर सोच्नुहुन्थ्यो । कलाकारितामा लाग्दा धेरै ‘टर्चर’ पनि पाएकी थिएँ । धेरै पिटाई पनि खाएकी थिएँ । घरमा सिस्नो पानी लाउँथे, पिट्थे । बेलुका कार्यक्रमबाट आउँदा ढोकै खोल्दैन्थे । एकपटक राती कार्यक्रम सकेर नौ बजे घर आएँ । ढोका ढकढकाएँ । माथिबाट एक गाग्र्री चिसो पानी खन्याइदिएर निथ्रुक्कै हुँदा त्यो रात बेस्सरी रोएकी थिएँ ।

मलाई कलाकारिता किन नराम्रो भन्ने लाग्थ्यो । बाहिर कलाकारिता क्षेत्रको जसरी बदनाम गरिन्थ्यो त्यस्तो थिएन । नायिकालाई जस्तो सोचिन्थ्यो, त्यस्तो थिएन र म त्यस्तोमा परिन पनि । त्यति खेर त महिला डाक्टर बन्दा पनि आइमाई डाक्टर बनी भन्थे । कलाकार बन्दा पनि ‘आईमाई कलाकार’ भनेर हेप्थे । त्यसमाथि मेरो जोक गर्ने भूमिका थियो । ‘हेर, स्वास्नी मान्छे भएर यस्तो गरी’ भन्थ्यो समाजले । जोकर्नी भई, लाज नभएकी भन्थे । राती घर पुर्याउन आउने दाईहरूलाई पनि ‘ब्वाई फ्रेन्ड’ भन्थे । केटा लिएर आई अब डिट्ढा साबकी छोरी बिग्रिई भन्थे ।

सानै हुँदा बिहान फुत्त भागेर जाने, दिनभर, नाँच्ने, गाउने रमाइलो गर्ने गर्थे । साँझ फर्कदा भने मुटुमा ढुंगा राखेजस्तो हुन्थ्यो । पछि उहाँहरूले जे भन्दा पनि मैले नमाने पछि ‘एउटा कुखुराको फुल फुट्यो’ भनेर पनि भन्नु भयो । बुबाले कहिले पनि स्वीकार गर्नु भएन । बुबाले त मेरो कुनै पनि नाटक, फिल्म नहेरी बित्नुभयो । त्यो सम्झदा साह्रै दुःख लाग्छ ।

मेरो आमालाई भने गीत मन पर्ने, नाँच पनि हेर्न मन लाग्ने । तर, आफ्नी छोरी नाँचेको भने मन नपराउने । मैले आमाको मुख लागेर गीत सुन्दै हिड्ने आफू चाँही असल हो त ? भन्थे ।

विवाह गरेपछि घरबाट एकदमै सपोर्ट भयो । जति यो क्षेत्रमा आउन सजिलो भयो त्यो विवाहपछि मात्रै हो । मेरो श्रीमान्ले धेरै सहयोग गर्नुभयो । पछि माइतीमा पनि गाली गर्न छोडे ।

केटाले बेनामे चिठी फ्याँक्थे, हामी डाइलग हान्थ्यौं
उ बेलामा केटाहरूसँग बस्दा, खेल्दा पनि नराम्रो रूपमा लिइन्थ्यो । नेपाल युवक विद्यालयमा आएपछि पनि केटी साथीहरू नै धेरै भए । कलाकातिरतामा लागेपछि सबैले चिन्न थाले । केटाहरूले बाटोमा पच्छ्याउने, जिस्काउने, फुत्त बेनामे चिठी फ्याँक्थे । हामी पाँच÷६ जना केटी साथी मिलेर हेथ्र्यौं अनि हाँस्थ्यौं । अनि केटाहरूलाई उनीहरूले चिठीमा लेखेको ‘डाइलग’ बोलेर जिस्काउँथ्यौं । हामीदेखि केटाहरू नै लजाएर भाग्थे ।

मलाई दार्जिलिङ्सम्मबाट प्रिय अभिनेत्री ‘ए रात्तै’ भनेर चिठी आउथ्यो । त्यो प्रेम पत्र नभएर कलाकारलाई गरेको मायाको रूपमा थियो । बाटोमा केटाहरूले ए ! रात्तै भन्थे । ‘हिजो आज के भयो ए रातै तिम्रै माया लाग्छ’ भनेर केटाहरूले बाटो छेकेर गीत गाँउथे । केटाहरूले जिस्काउने भएकाले त्रिचन्द्र कलेजको बाटो हिड्न नै मुस्किल हुन्थ्यो ।

पुलिस क्लवमा नाँच्दा लभ
मेरो २०२४ सालमा १६ बर्षको उमेरमै बिहे भयो । उहाँ (श्रीमान्) प्रहरीमा सव–इनिस्पेक्टर हुनुहुन्थ्यो । पुलिस क्लवमा महेन्द्र राजाको जन्मोत्सव मानाइन्थ्यो । राष्ट्रिय नाँचघरबाट हामी अतिथि कलाकारको रूपमा त्यहाँ नाँच्न जान्थ्यौं । उहाँ केटाको तफबार्ट नाच्नुहुन्थ्यो । सँगै नाच्न थालेपछि नै मैले उहाँलाई चिनेको । उहाँ एकदम भद्र जस्तो लाग्थ्यो । उहाँले पनि मलाई मन पराउनु भएको रहेछ । पुलिस क्लवमा प्रहरी भित्र पनि ‘बसुन्धरा र चेतनारायण भुसाल सापको लभ परेको छ’ भनेर हल्ला चल्न थाल्यो । त्यो बेला डिबी लामा प्रहरीको आइजीपी हुनुहुन्थ्यो । उहाँलाई मैले धर्म दाई बनाएकी थिएँ । उहाँले नै बिहे गराइदिनु भएको हो । अहिले मेरो दुईवटा छोरी, एउटा छोरा छ ।

जरसाबले फुच्ची ठानेछन्
मेलै पहिलो पटक अभिनय गरेको ‘आमा’ फिल्मका पहिलो ‘सो’ आर्फी डेडक्वाटरमा भएको थियो । राजा महेन्द्र शाहबाट उद्घाटनका क्रममा रिबन काट्दा म च्याप्प समात्न गएछु । आर्मीका जरसावले ‘ए नानु धेरै चकचक गर्नुहुन्न’, भने । उनले मलाई फुच्ची ठानेछन् । फिल्म हेरे पछि ‘ए ! रात्तै यो नानी त त्यस्तो चंखु पो रहेछ’ भनेर भने । फिल्ममा पहिलो पटक सरर… पर्दामा हेर्दा आपूm ठूलै मान्छे भए जस्तो अनुभव भयो ।

ब्वाईज कट काट्थे, साइकल कुदाउँथे
अलिकति नक्कली र अलिकति स्मार्ट नै थिएँ । कपाल ब्वाईज कट हुन्थ्यो । क्रिम लगाएर हिंड्थे । मेड्डी लगाएर हिंड्थे । टमहरू लगाएर हिंड्थे । साइकल चालएर हिंड्थे । त्यो बेलामा साइकल राम्रोसँग चलाउन आउथ्यो । केटाहरूले धेरै पटक साइकलबाट लडाउन खोज्थे तै पनि मैले उनीहरूको साइकलसँग साइकल जुधाएर जितेकी छु । मलाई ‘नानी–बाबु’ भन्थे । म कलाकार नभएको भए खेलाडी हुँन्थे । स्कुलमा दौंड, कवड्डी, व्याडमिन्टनलगायतका खेल पनि राम्रै खेल्थे । म अलिकति चिनिएको, स्मार्ट भएकाले केटाहरूले खुव जिस्काउथे । हाम्रो ग्रुप नै स्मार्ट थियो । उनीहरू पढाईमा अब्बल थिएँ । म अतिरिक्त क्रियाकलापमा अब्बल थिएँ । पढाईमामा कमजोर पनि होइन, अब्बल पनि होइन । यद्यपि मैले स्कुलमा विज्ञान बिषय लिएरै एसएलसी पास गरेकी हुँ ।

पहिलो धेरै भएँ
मैले नेपालै बनाएको पहिलो फिल्म ‘आमा’बाट चलचित्र क्षेत्रमा अभिनय सुरु गरँे । २०२१ मा छायाँङ्कन भएको यो फिल्म २०२२ सालमा लागेको थियो । त्यसमा मैले बालकलाकारको रूपमा ‘ए रात्तै’ भनेर खेलेकी थिएँ । २०२३ सालमा दोस्रो फिल्म ‘हिजो, आज र भोली’मा अभिनय गरेकी थिएँ । बीष बर्ष राष्ट्रिय नाँचघरमा जागिर पनि खाए । तीन बर्ष प्रज्ञा प्रतिष्ठानमा पनि जागिर गरे । कलाकार संघमा पाँच बर्ष उपाध्यक्ष, पाँच बर्ष अध्यक्ष भए । अहिले सल्लाहकार छु । विकास बोर्डमा पनि पहिलो महिला सदस्य भएँ । जीवनमा पहिलोमा धेरै परेकी छु । म अलि क्रान्तिकारी स्वभावकी छु । कसैले कसैलाई दवाएको सहन सक्दैन्थे । कलाकार संघमा लामो समय टिकेरै बसे । कलाकार संघको चुनावमा मन्त्री नै मलाई हराउन लागेका थिएँ । तर, चुनाव मैले नै जिते ।

आमाको साढीलाई स्टेजको पर्दा बनाउँथे
कलाकारितामा मेरो बच्चैदेखिको सोख हो । बच्चादेखि नै ‘एक्टिङ’ गर्ने, अरुलाई तर्साएर हिंड्ने गर्थे । २०१४ सालमा पहिलो पटक रंगमञ्चमा आएँ । त्यो बेलमा म ७ बर्षकी मात्रै थिएँ । स्कुलको नृत्य कार्यक्रममा सानैदेखि भाग लिन्थेँ । फिल्मका ‘डाइलग’हरू बोल्ने । नाटक हेर्न जाँदा स्टेजमा बिस्तारै पर्दा खुलेको देख्थे । त्यो दिमागमा बसेको हुन्थ्यो । घरमै आमाको साढीलाई पर्दा बनाएर साथीलाई समात्न लाउँथे र आफै गीत गाएर नाँच्थे । ‘हात काट्यो बरै चालिसे चुराले’ भनेर गीत गाउँथे । तत्कालीन जनसेवा हलामा आयोजना भएको बाल नृत्य प्रतियोगीतमा पनि त्यही गीत गाएर पहिलो स्टेज नृत्य पनि गरेर दोस्रो पनि भएकी थिएँ ।

मैले कलाक्षेत्रमा मान्नु पर्ने नाम हो भुवन चन्द । रंगमञ्चमा चाँही मेरो आफ्नै माइली दिदीको कारणले आएको हो । उहाँ नै प्रेरणाको स्रोत हो । अहिले फिल्म खेलेको पनि ५२ बर्ष भयो । मलाई अरु भन्दा पनि टिपिकल नेपाली नृत्य गर्न मन पनि पर्छ, आउँछ पनि ।

तीन बर्ष जति बालकृष्ण समकी चेली भएर नेपाल प्रज्ञा प्रतिष्ठानमा नाटक अभिनय पनि सिकें। मैले खेलेको पहिलो नाटक ‘डोला मैया’ होे । कृष्णप्रसादले रिमालले निर्देशन गर्नुभएको नाटकमा नेपालकी पहिलो नायिका भुवन चन्दले हिरोइनको भूमिका खेल्नु भएको थियो ।

पैसा सिध्याउन न्युरोडमा फन्का लगाउथ्यौं
घरमा खाना लगाउन अभाव थिएन । त्यसैले पैसाको लोभमा खासै पनि भएन । त्यस बेला सरकार आफैले पनि फिल्म बनाउँथ्यो । ‘मनको बाँध’, ‘हिजो, आज र भोली’ जस्ता फिल्म सरकार आफैंले  बनाएको थियो ।

फिल्ममा अभिनय गर्नेलाई पैसा पनि राम्रै दिन्थ्यो । अनियबाट आएको पैसाले उ बेला राम्रैसँग पुग्थ्यो । प्रज्ञाप्रतिष्ठानले पनि हामीलाई त्यो बेलामा लगभग एक सय ८५ रुपैयाँ तलब दिन्थ्यो । त्यो पैसा सिध्याउन हामीले न्युरोडमा धेरै फन्का लगाउथ्यौं । पैसा नै सिद्धिदैन्थ्यो । पछि आएर मात्रै माग पनि बढ्न थाल्यो । हरेक कुराको मूल्य पनि बढ्न थाल्यो । परिवार पनि बढ्दै गयो । पहिले धेरै कलाकार पनि थिएन । हाम्रो पालामा फिल्मका कथा राम्रा हुन्थे । पहिले ‘क्वान्टिटी’ भन्दा ‘क्वालीटी’वाला फिल्म धेरै बन्थे । तर, अहिले पनि कतिपय नयाँ पुस्ताले राम्रा –राम्रा फिल्म बनाएका छन् ।

प्रस्तुति : रामकुमार,नागरिक दैनिकबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK