पाकिस्तानी जेलबाट पुकार : ‘म नेपाल फर्कन चाहन्छु’

ENGLISH

NRN GLOBAL

पाकिस्तानी जेलबाट पुकार : ‘म नेपाल फर्कन चाहन्छु’

2 September, 2017 | Sandeep Bhattarai | 1070 Views | comments

म नेपाल फर्कन चाहन्छु’

‘बुवा, हाम्रो अंकल भेटिनुभो जस्तो छ,’ मोबाइलबाट आएको भतिज कर्णबहादुर चन्दको आबाजले बैतडी, हटैराज–२, गुर्केलीका रणबहादुर चन्द ( ५६) को आङ् सिरिङ भयो ।

उनी जुरुक्क उठे, के गर्ने मेसो पाएनन् । ‘कहाँ भेटिस् ? कसरी चिनिस् ?,’ सासै नफेरी रणबहादुरले प्रश्नको वर्षा गरे भतिजलाई । ‘यहाँ फेसबुकमा लेखेको छ,’ कर्णबहादुर भन्दै थिए, ‘फोटो म चिन्दिनँ तर विवरण हाम्रो अंकलसँग मिल्छ ।’

फोन राखेर रणबहादुर कुद्दै छोरीकहाँ पुगे । छोरीले फेसबुक चलाउँछिन् । जुन कुरा खोज्न उनी कुद्दै छोरीकहाँ पुगेका थिए छोरीले पहिल्यै त्यो सूचना थाहा पाइसकेकी थिइन् ।

भाइ नरेन्द्रलाई स्वदेश फर्काउन अहिले रणबहादुर दिनहुँ कसै न कसैको घरमा पुगैकै हुन्छन् । दुई हात जोडी भाइ र उनको परिवारलाई नेपाल ल्याउन सहयोग गरिदिनु पर्यो भन्दै याचना गर्छन् उनी सबैसँग । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्याको पोको खोल्ने उनको धोको भने पूरा भएको छैन ।

‘बुबा तपाईंले हाम्रो अंकल हराउनुभएको भन्नुभएको होइन,’ छोरीले भनिन् । ‘हो, किन,’ रणबहादुरको मुटुको धड्कन बढ्यो । ‘उहाँ हाम्रो अंकल हो र ? यहाँ लेखेको सबै कुरा त हामीसँग मिल्छ,’ छोरीले फेसबुक खोलेर मोबाइल बुबाको हातमा थमाइन् । मोबाइल समातेका रणबहादुरका हात कापिरहेका थिए । फेसबुकमा राखिएको फोटो आफ्नै भाइको हो वा होइन उनले ठम्याउन सकेनन् । उनी एकोहोरो हेरिमात्र रहे । फोटो सानो थियो, राम्रोसँग नबुझिने । फोटोसँगै लेखिएको सन्देश भने उनले बुझे ।

‘हे भगवान, मेरो भाइ भेटियो,’ अनायसै रणबहादुरको मुख खुल्यो । उनका आँखा रसाए, आँसु खसे । नरेन्द्रबहादुर चन्दको फेसबुक सूचनामा लेखिएको थियो ‘मेरो नाम नरेन्द्रबहादुर चन्द हो । मेरो घर बैतडी, हटैराज–२ हो । मेरा दाइहरूको नाम रणबहादुर चन्द, धनबहादुर चन्द, गजबहादुर चन्द हो ।’ नरेन्द्रबहादुर हराएको २७ वर्ष भएको थियो ।

‘नरेन्द्रबहादुर चन्द पाकिस्तानको बलुचिस्तानमा अलपत्र हुनुहुन्छ ।उहाँलाई कसैले चिन्नुहुन्छ भने यो सूचना उहाँका नेपालमा रहेका आफन्तसम्म पुर्याइदिनु होला,’ फेसबुक पेजमा अर्को सूचना पनि थियो ।

राति भइसकेको थियो । रणबहादुरको मनमा छटपटी बढ्दो थियो । उनी अझै ढुक्क हुन सकेका थिएनन् । फेसबुकमा भाइको नाममा राखिएको फोटो उनले खुट्याउन सकेनन् । सूचनाले भने उक्त व्यक्ति आफ्नै भाइ हो भन्ने देखाउँथ्यो । उनलाई कहिले बिहान होला र साइबर जाउँला भन्ने थियो । त्यो रात उनको जीवनको सबैभन्दा लामो बन्यो । आँखा झिमिक्क नगरी उनले रात काटे । कात्तिक ८ गते बिहान उनी कञ्चनपुरको देवी चौराहस्थित साइबर पुगे । उनी त्योबेला कञ्चनपुर, दैजी–६ मा बस्थे ।

‘भाइ, फेसबुकमा नरेन्द्रबहादुर चन्दको पेज एकपल्ट खोलिदिनुपर्यो,’ उनले साइबरका भाइलाई आग्रह गरे । उनले तुरुन्तै फेसबुकमा नरेन्द्रबहादुर चन्दको नाम टाइप गरी खोजे । फेसबुकमा सर्च गर्दा थुप्रै नरेन्द्रबहादुर चन्द देखिए ।

‘भाइ, यो फोटो ठूलो बनाउनु न,’ रणबहादुरले फेसबुकतर्फ देखाए ।

‘यतिधेरै छन्, कुनचाहिँ ठूलो बनाउने,’ साइवर पसले भाइले भने । देखिएकामध्ये एउटा फोटो रणबहादुरले खोल्न भने । तस्बीर त ठूलो आकारमा खुल्यो तर ती उनका भाइ थिएनन् । केहीबेर फेसबुकमा घोत्लिएपछि उनका भाइ नरेन्द्रबहादुरको तस्बिर भेटियो । त्यहीं सूचना भेटे, जुन उनले छोरीको मोबाइलमा पढेका थिए ।

‘नरेन्द्र मेरो भाइ हो, म उसको दाइ रणबहादुर चन्द हुँ । कसैले मेरो भाइसँग कुराकानी गर्नुभएको छ भने कृपया मलाई फोन गर्नुहोला,’ भाइको फेसबुक पेजको टाइम लाइनमा आफ्नो मोबाइल नम्बरसमेत राखेर रणबहादुरले सन्देश छोडे । उनलाई अंग्रेजी आउँदैनथ्यो, त्यसैले फेसबुकमा राख्ने सन्देश अंग्रेजीमा लेख्न उनलाई साइबरकै भाइले सघाए ।

२०४४ सालमा नरेन्द्रबहादुर चन्द स्थानीय विद्यालयमा चार कक्षामा पढ्थे । उनी त्यतिबेला १०÷१२ वर्षका थिए । चार कक्षा फेल भएपछि साथीको लहैलहैमा लागेर उनले घर छोडे । उनीसँग घरबाट भागेर हिँड्नेमा अन्य चारजना पनि थिए । सबैको गन्तव्य थियो– भारत ।

उनीहरू झुलाघाट हुँदै पिथौरागढ पुगे । जसोतसो त्यहाँ उनीहरूले एक होटलमा काम पाए । काम थियो– भाँडा माझ्ने, टेबुल र भुइँ पुछ्ने । भागेको पाँच महिनापछि मात्र नरेन्द्रबहादुरले आफ्नो घरमा सम्पर्क गरे । त्यतिबेला दाइ रणबहादुर नेपाली सेनामा कार्यरत थिए । नरेन्द्रबहादुर ६ दाजुभाइमा कान्छा थिए । माइला दाइ धनबहादुर नरेन्द्रलाई लिन पिथौरागढ गए ।

नरेन्द्रलाई बैतडी घर ल्याएपछि सबैले सम्झाए । पढाइ नछोड्न भनियो । नरेन्द्रलाई भने सहरमा पढ्ने मन थियो । ‘भाइ, दस कक्षासम्म यहीं पढ । मेरो पोस्टिङ टाढा छ । खर्च व्यहोर्न पनि गाह्रो हुन्छ । दस कक्षा पास गरेपछि महेन्द्रनगरमा पढाउँला,’ भाइलाई सम्भाइबुझाइ गाउँकै स्कुलमा भर्ना गरेर रणबहादुर ब्यारेक फर्के ।

रणबहादुर खप्तडस्थित सेनाको ब्यारेक फर्केको ८–१० दिनमा नरेन्द्रले फेरि घर छोडे । उनी फेरि पिथौरागढ पुगे । केही महिना होटलमा कम गरेर केही पैसा कमाएपछि वनवासा पुगे उनी । वनवासामा कपडा पसलमा काम गर्न थाले । २०४६ सालको एक दिन त्यही पसलमा मामालाई देखेपछि नरेन्द्र तिनछक परे । तर त्यो संयोगमात्र थियो । मामा भान्जालाई खोज्दै त्यहाँ पुगेका थिएनन् ।

‘भान्जा, तपाईं त हराउनुभएको थियो । यहाँ कसरी त ?,’ मामाले सोधे । पिथौरागढ हुँदै वनबासा आएको नरेन्द्रले सुनाए । त्यसपछि मामाले पसल साहुसँग आफ्नो भान्जा लैजाने कुरा राखे । पसल साहु पनि नरेन्द्रलाई पठाउन राजी भए । मामाले नरेन्द्रलाई चाँदनीस्थित आफ्नो घर ल्याए र दाइ रणबहादुरलाई खबर पठाए । छुट्टी मिलाएर रणबहादुर मामाघरतर्फ हुइँकिए ।

नरेन्द्रको भविष्यलाई लिएर मामाघरमा धेरै विचारविमर्श भयो । रणबहादुर्रले मामाघर जाँदा एकजना गाउँकै मेथी चन्दलाई पनि लिएर गएका थिए । अन्त्यमा तीनै गाउँले दाइ मेथीले निस्कर्ष सुनाए, ‘नरेन्द्रले अब पढ्दैन । पटकपटक भागेर यसले नपढ्ने इच्छा देखाइसकेको छ । दिल्लीमा मेरो भाइको छोरा अगबर छ । यसलाई त्यहीं पठाइदिऊँ, उसले काममा लगाइदिन्छ ।’ यसमा सबैले सहमति जनाए । नरेन्द्र पनि खुसी भए । मामाघरबाट दुई दाजुभाइ दुईतर्फ लागे । नरेन्द्र दिल्लीतर्फ, रणबहादुर ब्यारेकतर्फ ।

नरेन्द्र दिल्ली पुगेपछि अकबरले नोकरी लगाइदिए । तर उनी त्यहाँ लामो समय टिक्न सकेनन् । नरेन्द्रले गडबड गरेको भेउ पाएपछि साहुले होटलबाट निकालीदिए । त्यति नै बेला उनको संगत भयो अलदा खानसँग । अलदा पाकिस्तानी थिए । व्यापार गर्ने निहुँमा उनी दिल्ली आइरहन्थे ।

‘यी जुठा भाँडा माझेर कति बस्छौ । यहाँ तिम्रो केही हुन्न । मसँग हिँड, तिमीलाई राम्रो जागिर र पैसा दिन्छु,’ एक दिन अलदाले भने ।‘कहाँ ?’ नरेन्द्रले मुख खोले । ‘मेरो घरमा,’ उसले भन्यो । ‘हुन्छ,’ घर कहाँ छ भन्ने सौध्दै नसोधी नरेन्द्रले टाउको हल्लाएर सहमति जनाए ।

पाकिस्तानमा धर्म परिवर्तन र विवाहका लागि नरेन्द्रमाथि दबाब बढ्दै गयो । उनले थेग्न सकेनन् । अन्ततः नरेन्द्रले आत्मसर्मपण गरे । इस्लाम कबुल गरे । उनी नरेन्द्रबहादुर चन्दबाट महम्मद अयुब खान बने । उनलाई सबैले ‘नरेन्द्र’ होइन ‘महम्मद’ भनेर बोलाउन थाले ।

अलदाले दुई लाख रुपैयाँजतिको सामान किनेर नरेन्द्रको जिम्मा लगाए । सँगै रेल स्टेसनसम्म गए । ‘यो मेरो छोरो हो । यसलाई र यो सामानलाई बागाबोडर हुँदै लाहोरसम्म पुर्याइदिनु,’ अलदा रेलका कर्मचारीसँग भने । नरेन्द्रलाई रेल कर्मचारीको जिम्मा लगाएर अलदा भने मुम्बई गई जहाज चढेर पाकिस्तान पुगे । यो २०४६ सालको कुरा हो ।

बिनाराहदानी सेटिङमा नरेन्द्र लाहोर पुगे । लाहोरमा नरेन्द्रको स्वागतमा अलदा बसेका थिए । लाहोरबाट उनीहरू कराँची गए । नरेन्द्रलाई अलदाले सँगै राखे । अलदाका परिवार रोगनी पहाडी इलाकामा बस्थे । अलदाले श्रीमती, छोरा–छोरीलाई पनि कराँची नै बोलाए । अलदाको दुई छोरा र एक छोरी थिए । ‘यसलाई मैले धर्मपुत्र बनाएर ल्याएको हुँ, छोरालाई जस्तै व्यवहार गर्नु,’ नरेन्द्रलाई देखाउँदै अलदाले श्रीमतीसँग भने ।

अलदाले नरेन्द्रका लागि नयाँ रेष्टुरेन्ट खोलिदिए । न्यू कराँची सिर्जना कोलनी गल्ली नं. ६ मा थियो रेष्टुरेन्ट । नरेन्द्रको मन त्यहाँ खासै रमाएको थिएन । त्यहाँको भाषा उनले राम्रोसँग बुझ्न सकेका थिएनन् । उनलाई आपूm कुन ठाउँमा छु भन्ने हेक्कासमेत थिएन । भित्ताहरूमा लेखिएका अक्षर उनले बुझ्दैनथे । सबैजना स्लाम समुदायका मानिस मात्र थिए । आफू परिबन्दमा परेको उनले विस्तारै बुझ्दै गए । उनलाई अब एउटै चिन्ता हुन थाल्यो– फुत्केर घर कसरी जाने ।

‘यो कुन ठाउँ हो ?,’ नरेन्द्रले सोधे । ‘यो पाकिस्तानको कराँची । अब तिमी यहीं बस्छौं,’ अलदाको जबाफले नरेन्द्र झसंग भए । ‘म यहाँ बस्दिनँ । मलाई घर फर्काइदिनु,’ नरेन्द्रले दुई हात जोडे । ‘किन जानुपर्यो , यहीं बस्दा भैगो नि,’ अलदाले सम्झाउन खोजे । ‘आमाको याद आयो,’ नरेन्द्रका आँखाबाट आँसु खसे । ‘यो पनि तिम्रो आमानै त हो नि । यी तिम्रा भाइबहिनी हुन् । म तिमीलाई यहींको नागरिकता बनाइदिन्छु,’ अलदाले श्रीमती र छोराछोरीतर्फ देखाउँदै भने ।

नरेन्द्र रोइमात्र रहे । उनलाई कराँचीमा दुःख थिएन ।

तर उनले आफू मिल्दो वातारवरण त्यहाँ भेटेनन् । कहिलेकाहीं अलदाले उनलाई इस्लाम धर्म अंगाल्न आग्रह गर्थे । तर नरेन्द्रले यसतर्फ ध्यान दिएनन् । सारै न्यास्रो लागेपछि तीनपटक उनले बैतडी घरमा चिठी पठाए । तर घरमा एउटामात्र चिठी पुग्यो । बाँकी दुई चिठी अझै बैतडी पुगेका छैनन् । नरेन्द्रले चिठी जुन भाषामा लेखेका थिए त्यो बुझ्ने घरमा कोही भएन । चिठी उर्दु, पास्तु के भाषामा थियो त्यो बैतडीमा रहेका परिवारलाई अहिलेसम्म थाहा छैनन् । तर चिठीमा भएका दुई कुरा भने दाइ रणबहादुरले बुझे– भाइ बसेको ठेगाना र उसको फोन नम्बर ।

त्यो बेलाको बैतडीको हटैराज अहिले जस्तो थिएन । न नजिक कतै फोन थियो, न हुलाक नै । त्यसपछि रणबहादुरले आफ्नो ब्यारेकको मेजरसामु बिन्ती बिसाए । त्यतिबेला ब्यारेकका मेजर थिए प्रसिद्ध शाह । उनको पोस्टिङ त्यतिबेला जाजरकोट थियो । मेजरसा’प कमलो मनका निस्के । उनले अमलदार रणबहादुरलाई भाइको खोजी गर्न काठमाडौं पठाए । यो २०५२ सालतिरको कुरा हो ।

काठमाडौं आइपुगेपछि रणबहादुर सैनिक मुख्यालय पुगे । त्यहींबाट उनले भाइलाई फोन गरे तर फोन लागेन । उनी निराश भए । त्यसपछि उनले हुलाकबाट भाइलाई चिठी पठाए । त्यो चिठी तीन महिनापछि फर्केर आयो । चिठीमा पाकिस्तानको छाप थियो । चिठी पाकिस्तान त पुग्यो तर के कारणले फर्केर आयो रणबहादुरले भेउ पाएनन् । पछि मात्र थाहा पाए चिठी पुगेका बेला भाइ नरेन्द्र अर्कै ठाउँ सरिसकेका रहेछन् । नयाँ ठाउँको ठेगाना रणबहादुरसँग थिएन ।

नरेन्द्र र आफ्नो परिवार लिएर अलदा कराँचीबाट अफगानिस्तानको सीमानजिक बलुचिस्तान सरे । अलदाले त्यहाँ एक अफगानी शरणार्थीकी छोरीसँग नरेन्द्रको भेट गराए । बिस्तारै तिनै युवतीसँग विवाह गर्न उनीमाथि दबाब बढाउन थाले । विवाह गर्न पहिला मुस्लिम बन्न उनले भने । ती युवतीले पनि नरेन्द्रलाई बारम्बार फोन गर्न थालिन् । ‘हामी कहिले विवाह गर्ने, अब बेला भएन,’ ती युवती फोनमा प्रायः नरेन्द्रसँग यही प्रश्न गर्थिन् ।

‘गरौंला नि बिस्तारै, किन हतारिनु पर्यो,’ नरेन्द्र यसरी नै टार्थे ।

तीन वर्ष यसरी नै फोनमा कुराकानी गरेर बित्यो नरेन्द्रको । उनका दुई दाइ नेपाली सेनामा थिए । अरुले नखोजे पनि ती दुई दाइले आपूmलाई खोज्ने आशा नरेन्द्रमा थियो । दाइहरू सम्पर्कमा नआएपछि उनीभित्रको नेपाल फर्कने आशा मर्दै थियो । धर्म परिवर्तन र विवाहका लागि उनमा दबाब बढ्दै गयो । उनले थेग्न सकेनन् । अन्ततः नरेन्द्रले आत्मसर्मपण गरे । इस्लाम कबुल गरे । उनी नरेन्द्रबहादुर चन्दबाट महम्मद अयुब खान बने । उनलाई सबैले ‘नरेन्द्र’ होइन ‘महम्मद’ भनेर बोलाउन थाले । २०५५ सालमा उनले अफगानी शरणार्थीकी छोरीसँग निकाह (विवाह) गरे ।

नरेन्द्रको विवाहपछि अलदाले दोस्रो विवाह गरे । अलदाको दोस्री श्रीमतीबाट एक छोरा र एक छोरी भए । अलदाका जेठी र कान्छी श्रीमतीका सबै सन्तानले नरेन्द्रलाई दाइ भन्थे । अलदाले नरेन्द्रलाई आफ्नै छोरा र उनकी श्रीमतीलाई आफ्नै बुहारीझै माया गरेर राखेका थिए । नरेन्द्रको सुरुका तीन सन्तान बाँच्न सकेनन् । सानैमा उनीहरूको मृत्यु भयो । अहिले उनका दुई सन्तान छन्– छोरा इरफान र छोरी साबानिसा । इरफान १२ वर्षका भए, साबानिसा ८ वर्षकी भइन् ।

२०६८ सालमा अलदाको मृत्यु भयो । अलदाको मृत्युको एक महिनापछि उनकी जेठी श्रीमतिको पनि मृत्यु भयो । अलदाका जेठी र कान्छी श्रीमतीका छोराछोरीबीच मनमुटाव बढ्न थाल्यो । विवाद यति बढ्न थाल्योकी जेठी श्रीमतीका छोराछोरीले कान्छी आमालाई कुटपिट गर्न थाले । सम्पत्ति बाँडफाँटको कुरा उठ्यो । अंशबण्डा गर्दा नरेन्द्रलाई पनि एक भाग लगाउने सहमति बन्यो । तर छिमेकीले ‘हुँदैन’ भनेर अलदाका छोराछोरीको कान फुक्न थाले चेपुवामा पर्दै गए नरेन्द्र ।

‘यो त विदेशी केटो हो, हाम्रो दाजुभाइ होइन,’ अलदाको परिवारभित्रै नरेन्द्रको विषयमा कुरा उठ्यो । एक दिन त अलदाका छोराछोरीले नरेन्द्रको कठालो समाते । ‘त को होस् ? कहाँबाट आएको ? हाम्रो सम्पत्तिमा आँखा किन लाइस् ?,’ अलदाका छोराछोरीले भन्न थाले । अलदाकी कान्छी श्रीमती नरेन्द्रको पक्षमा थिइन् । ‘तेरा बाउले धर्मपुत्र बनाएर ल्याएको यो बाबुलाई,’ अलदाको कान्छी श्रीमतीले छोराछोरीलाई सम्झाउन खोजिन् । तर उनीहरूले मानेनन् ।
‘अब तँ यतातिर देखिइस् भने मर्छस,’ उनीहरूले नरेन्द्रलाई घरबाट हुत्याइदिए । नरेन्द्रका छोराछोरी आफ्ना बाबुको निरीह अवस्था देखेर रोइरहन्थे । नरेन्द छोराछोरी र पत्नीलाई लिएर अलदाको घरबाट निस्के । उनीहरू पुगे शरणार्थी क्याम्पमा, जहाँ नरेन्द्रका काका ससुरा थिए ।

काका ससुराले नरेन्द्रलाई एउटा कोठा दिने भए, तर भाडा तिर्नुपर्ने सर्तमा । भनेजस्तो काम पाइएन । कोठा भाडा र छोराछोरीलाई खुवाउन धौधौ पर्न थाल्यो । नेपालमा रहेका परिवारको याद आइरहनथ्यो । खासगरी आमाको सम्झनाले उनलाई पलपल सताउँथ्यो । अधिक समय उनी रोएर बिताउँथे । ‘भाइ, तिमी सधैं रोइरहेको देख्छु । तिमीलाई के भएको छ,’ बिक्की कुमार नाम गरेका एक व्यक्तिले नरेन्द्रलाई एक दिन सोधे । नरेन्द्र केही बोलेनन् । ‘मैले केही सहयोग गर्नसक्छु भने भन,’ बिक्कीले उनको घाउमा मलम लगाउने प्रयास गरे । त्यसपछि नरेन्द्रले बैतडीदेखि बलुचिस्तान हुँदै काका ससुराको घरसम्मको यात्रा सुनाए ।

‘परिचयपत्र हुने शरणार्थीलाई स्वदेश फिर्ता पठाउने, नहुनेलाई जेल हाल्ने रे’ शरणार्थी क्याम्पमा हल्ला चल्यो । यसलाई कसैले पनि गम्भीर रुपमा लिएनन् । किनकी यस्ता हल्ला क्याम्प चलिरहन्थे । अर्कोदिन पनि बिक्की भेटिए । ‘के छ भाइ,’ उनले सोधे । ‘भोकै छु दाइ । बच्चालाई खुवाउन केही छैन । कता जाने, के गर्ने,’ नरेन्द्रका आँखा रसिला भए । बिक्कीले उनलाई सहयोग गर्न बनाएको योजना सुनाए । नरेन्द्रमा केही आश जाग्यो ।

‘लौ भाइ, तिम्रो असली नाम र नेपालको ठेगाना भन । तिम्रो फेसबुक आइडी बनाइदिन्छु । कोही न कोही तिम्रो देशको मान्छे कसो सम्पर्कमा नआउला त,’ बिक्कीले भने । नरेन्द्रले सम्झना भएसम्म विवरण उनलाई टिपाए । ‘तर, मलाई त फेसबुक चलाउन आउँदैन दाइ,’ नरेन्द्रले भने । ‘चिन्ता नगर, तिम्रो फेसबुक म चलाईदिउँला,’ बिक्कीले भरोसा दिलाए । बिक्कीले नरेन्द्रको फेसबुक आइडी बनाए र उनको पेजमा एउटा सन्देश राखिदिए ‘मेरो नाम नरेन्द्रबहादुर चन्द हो । मेरो घर बैतडी, हटैराज–२ हो । मेरा दाइहरूको नाम रणबहादुर चन्द, धनबहादुर चन्द, गजबहादुर चन्द हो ।’ त्यहीं बिक्कीले अर्को सूचना पनि राखिदिए, ‘नरेन्द्रबहादुर चन्द पाकिस्तानको बलुचिस्तानमा अलपत्र छन्, उहाँलाई कसैले चिन्नुहुन्छ भने यो सूचना उहाँको नेपालमा रहेका आफन्तसम्म पुर्याइदिनु होला ।’

केही दिनपछि नरेन्द्रको फेसबुकमा डोटीका राजेन्द्र फुलरा भन्ने व्यक्ति सम्पर्कमा आए । उनी पाकिस्तानको क्वेटास्थित बोलान मेडिकल कलेजमा एमबिबिएस तेस्रो वर्ष पढ्दै थिए । उनले सन्देश पठाए, ‘म पनि नेपाली हो, तपाईं कहाँ हुनुहुन्छ ।’ त्यसपछि फेसबुकमा दोहोरो कुराकानी सुरु भयो । राजेन्द्रसँगै पाकिस्तानमा एमबिबिएस अध्ययनरत गोर्खाका गजेन्द्र आचार्य र महेश गिरी पनि नरेन्द्रको फेसबुकमा जोडिए । राजेन्द्रले नरेन्द्रबारे फेसबुकमा सूचना राख्न थाले । देशविदेशमा रहेकाले आआफ्नो फेसबुकको टाइमलाइनमा सेयर गर्न थाले । अन्त्यमा नरेन्द्रका भतिज कर्णबहादुर हुँदै दाइ रणबहादुरले यो कुरा चाल पाए ।

२०७३ कात्तिक १० गते दिउँसो चार बजेतिर रणबहादुरको मोबाइलको घन्टी बज्यो । मोबलाइलमा नौलो नम्बर देखाप¥यो । उनले यति भेउ पाए त्यो नेपालको नम्बर थिएन । ‘हेलो,’ उनले भने । ‘म मोहनसिंह ठकुराठी बोलेको । म १२ वर्षदेखि दुबईमा कार्यरत छु । तपाईं रणबहादुर चन्द बोल्नुभएको हो,’ उताबाट आबाज आयो । ‘हो’ उनले भने । ‘म पनि बैतडीकै हुँ । हाल मेरो घर भिमदत्त नगरपालिकामा छ,’ मोहन भन्दै थिए, ‘पाकिस्तानमा तपाईंका भाइ अलपत्र पर्नुभएको रहेछ । तपाईंका भाइको फेसबुक आइडी खोलिदिने व्यक्ति पाकिस्तानी हुन् । उनी केही वर्षअघि दुबईमा काम गरेर फर्केका थिए । तीनै पाकिस्तानीले तपाईंका भाइको फेसबुक चलाउँछन् । तपाईंका भाइसँग मेरो कुराकानी भएको थियो ।’

मोहनले नरेन्द्रको फेसबुक पेजबाट मोबाइल नम्बर प्राप्त गरेका थिए । ‘मेरा लागि तपाईं भगवान भएर आउनुभो,’ रणबहादुर भावह्विल भए ।‘तपाईंका भाइलाई नेपाल फर्काउन हामी सक्दो सहयोग गर्छौं,’ मोहनले भने ।‘भाइ नरेन्द्रको नम्बर पठाइदिनु होला,’ रणबहादुरले भने ।

२०७३ कात्तिक ११ गते बिहान ८ः४५ बजे रणबहादुरले पाकिस्तानमा भाइलाई फोन लगाए । ‘अस्सलामु अलैकुम’ उताबाट आबाज आयो । उनी अक्क न बक्क भए । ‘तपाईं को बोल्नु भएको,’ रणबहादुरले भने । उताबाट केही जबाफ आएन । ‘कौन हे,’ केहीबेरको मौनता तोड्दै उताबाट उर्दु लबजमा सोधियो । रणबहादुरलाई यो बुझ्न बेर लागेन कि उता जो व्यक्ति बोलिरहेको छ उसले नेपाली बुझिरहेको छैन । त्यसपछि रणबहादुरले पनि जानी नजानी हिन्दीमा जबाफ फर्काए । उनको हिन्दी ‘विरबलको खिचडी’ जस्तो थियो ।

‘म बैतडीको मान्छे हुँ । बैतडी भन्ने सुनेको छौं,’ रणबहादुरले टुटफुट हिन्दीमा यसरी सोधेका थिए । ‘सुनेको छु,’ नरेन्द्रले सासै नफेरी सोधे, ‘तपाईंको घर बैतडी कहाँ हो ?’ ‘मेलौनी थाहा छ,’ रणबहादुरले भाइको परीक्षा लिँदै थिए ।

‘छ,’ नरेन्द्रले भने । ‘मेरो घर पनि बैतडी हो,’ नरेन्द्रले भने, ‘हटैराज–२, गुर्केली ।’ ‘तिम्रो घरमा को को छन् ?,’ रणबहादुर अझैं भाइको परीक्षा लिइरहेका थिए ।‘पाँच दाइ हुनुहुन्छ,’ प्रत्येक प्रश्नको सही जबाफ नरेन्द्रले दिँदै गए । उनले पाँच दाइको नाम सुनाए । अनि भने, ‘मेरो नाम नरेन्द्रबहादुर चन्द हो ।’ रणबहादुरले भाइसँग बैतडीका छिमेकीबारे पनि सोधे । उनले सबै बताए । त्यति नै बेला उनको मोबाइलको ब्यालेन्स सकियो, २७ वर्षपछिको दाजु–भाइबीचको संवाद रोकियो ।

यतिबेलासम्म रणबहादुरले भाइलाई आफ्नो असली परिचिय दिएनन् । उनी दौड्दै पसल गएर मोबाइल रिचार्ज गरे र पुनःभाइलाई फोन लगाए । ‘ल ठीक छ, म बैतडी जाँदैछु तिम्रो घरमा खबर पु¥याइदिउँला । म तिम्रो गृहजिल्लाको भएरमात्र चासो राखेको हो । घरमा केही भन्नुछ भने भन,’ रणबहादुरले भने ।

‘सास रहेसम्म आस हुन्छ भन्छन् । सबैले भाइलाई नेपाल ल्याउन सघाउँछौ भन्नुभएको छ । अझै आस मारिसकेको छैन,’ रणबहादुरले नागरिकसँगको कुराकानीको बिट मारे ।

‘म यहाँ अलपत्र परेको छु । मर्ने र बाँच्ने ठेगान छैन । म नेपाल फर्कन चाहन्छु,’ नरेन्द्रले घर परिवारलाई सन्देश छोडे । भाइको सन्देश सुनेपछि रणबहादुरले आफूलाई थाम्न सकेनन् । ‘म दाइ रणबहादुर हुँ, चिनिनस् मलाई,’ रणबहादुरको गला बस्यो । केही समय दाजुभाइ दुवैको बोली फुटेन । ‘बुबा त म दिल्ली छँदै बित्नुभएको थियो, आमा कस्ती हुनुहुन्छ ?,’ नरेन्द्रले मौनता तोडे । ‘सञ्चै हुनुहुन्छ । तँ कतै भेटिन्छस्कि भनेर लौरीको सहारामा यतायता गर्नुहुन्छ । अब तँ भेटिइस् । त बाँचेको थाहा पाएर अब लौरो छोड्नुहोलाकि,’ रणबहादुरले भाइसँग ढाँटे । खासमा आमाको मृत्यु भइसकेको थियो । २७ वर्षपछि फोनमा भेटिएका भाइलाई नराम्रो खबर सुनाउन मन नलागेर मात्र उनले ढाँटेका थिए । भाइले आफूले भोगेको सबै दुःख दाइलाई सुनाए । उनले अफगानी शरणार्थी महिलासँग विवाह गरी एक छोरा र एक छोरी जन्मेको पनि सुनाए । ‘दाइ, मलाई जसरी नि नेपाल फर्काउनोस्, म यहाँ बस्न सक्दिनँ,’ नरेन्द्रले भने ।

‘तँलाई त म ल्याउन सकुँला, तर तेरा श्रीमती र छोराछोरी ल्याउन सकिनँ भने के गर्ने ?,’ रणबहादुरले भने । ‘म एक्लै त फर्किन्नँ । बरु दुःख पाएर यहीं मर्छु,’ भाइले सुनाए ।

त्यसपछि दाजु–भाइको दिनदिनै फोनमा कुराकानी भइरह्यो । दिनको दुई पटकसम्म कुराकानी हुन्थ्यो । कुराकानीको सुरुवात भाइ ‘अस्सलामु अलैकुम’ बाट गर्थे । जबाफमा दाइ ‘जिते रहो’ भन्थे । भाइ कहिले पैसा माग्थे त कहिले छिटो फर्काउनु, यहाँ बच्चाबच्चीको बेहाल भयो भन्दै दाइलाई अत्याउँथे । दाइ भने भाइ र उसको परिवारलाई पाकिस्तानबाट फर्काउन सरकारी अड्डा धाउँदै थिए । उनले जिल्ला प्रशासन कार्यालय, परराष्ट्र मन्त्रालय, पाकिस्तानस्थित नेपाली दूतावासम सम्पर्क गरे । सबैतिरबाट उनले सकारात्मक जबाफ पाए । पाकिस्तानस्थित नेपाली दूतावासलाई भाइको सम्पर्क नम्बर, ठेगाना र फोटो पठाए । दूतावास कर्मचारीले पनि उनका भाइलाई सम्पर्क गरे ।

दूतावासका कर्मचारीले फोन गर्दा कुनै झुठो नबोल्न रणबहादुरले भाइलाई सिकाएका थिए । उनले भाइलाई सम्झाएका थिए, ‘झूठो नबोल्नु । झूठो  बोले आफैंले दुःख पाइन्छ । त्यहाँ जे भएको छ त्यहीमात्र बताउनू ।’ ‘झूठो  बोले, मैं मरुँला,’ भाइले पनि बाचा गरे ।

यसैबीच पाकिस्तानस्थित नेपाली दूतावासका कर्मचारीले उनलाई स्वदेश फिर्ता पठाउने प्रक्रिया सुरु गरेको जनाउ दिएका थिए । दूतावासको सक्रियता थाहा पाएपछि उनी खुसीले उफ्रिएका थिए । यो खबर सुन्दा नेपालमा रहेका दाइ रणबहादुर पनि दंग थिए ।

२०७३ मंसिर ११ गते रणबहादुरले पाकिस्तानमा रहेका भाइलाई फोन लगाए । उताबाट आएको आबाज सुन्दा उनको मनमा चिसो पस्यो । किनकी त्यो आबाज भाइको थिएन । अघिल्ला दुईदिन भाइको नम्बरमा फोन गर्दा लागेको थिएन । तीन दिनपछि फोन त लाग्यो तर उठाउने भाइ थिएन अरु कोही बोलिरहेको थियो । ‘तपाईं को बोल्नु भएको ?,’ आश्चर्य मिश्रित स्वरमा रणबहादुरले सोधे । ‘म नरेन्द्रको सालो हुँ,’ आफ्नो नाम अब्दुल अली बताउने व्यक्तिले भन्यो । ‘फोन भिनाजुलाई दिनु न,’ रणबहादुरले भने ।

‘भिनाजु त हुनुहुन्न,’ अब्दुलको स्वरले रणबहादुर झस्किए ।

‘कहाँ जानुभएको छ,’ रणबहादुरले सोधे । ‘भिनाजुलाई बोस (प्रहरी) आएर लगे,’ अब्दुलले भने । ‘कहिले ?,’ रणबहादुरले सोधे । ‘तीन दिनअघि (२०७३ मंसिर ८ गते),’ अब्दुलले जबाफ दिए । ‘कहाँ लगे’ रणबहादुरले फेरि सोधे । ‘थाहा छैन,’ अब्दुलले भने ।

रणबहादुर थुचुक्क भुइँमा बसे । उनलाई सबै अन्धकार भएजस्तो लाग्यो ।

रणबहादुर प्रत्येक दिन अब्दुललाई फोन गर्थे । जबाफले सधै उनलाई निराश बनाउँथ्यो । केही दिनपछि अब्दुलले फोन उठाउन छोडे । उनी झन् निराश बने । त्यसपछि २०७३ माघ १७ गतेमात्र अब्दुलले फोन उठाए । ‘(नरेन्द्रको) केही पत्ता लाग्यो,’ रणबहादुरले सोधे । ‘छैन, हामी खोजिरहेका छौं,’ अब्दुलको जबाफ पुरानै थियो । ‘नरेन्द्रका बालबच्चा, श्रीमतीलाई कस्तो छ,’ रणबहादुरले रगतको नाता सम्झिए । ‘ठीकै छ, हामीले खान दिएका छौं,’ फोन काटियो ।

त्यसपछि रणबहादुर चैत पहिलो साता नयाँदिल्ली पुगे । नोकरी खोज्दै उनी त्यहाँ पुगेका थिए । नयाँदिल्लीमा सबैभन्दा पहिला उनले त्यहाँको मोबाइलको सीमकार्ड लिएका थिए । पाकिस्तानमा भाइको अवस्था पत्ता लाग्नेबित्तिकै जानकारी गराउनु भन्दै अब्दुललाई पनि भारतीय नम्बर टिपाएका थिए रणबहादुरले । उनले त्यो नम्बर पाकिस्तानस्थित नेपाली दूतावासमा समेत टिपाएका थिए ।

रणबहादुर हरेक क्षण मोबाइलमा आँखा डुलाउँथे । कसैले फोन गरेर ‘तपाईंको भाइ पत्ता लाग्यो’ भनिहाल्छ कि भन्ने आशा उनमा थियो । २०७४ असार १० गते दिउँसो २ः४५ बजे उनको मोबाइलमा पाकिस्तानी नम्बर देखापर्यो । जुन पाकिस्तानस्थित नेपाली दूतावासका कर्मचारीले गरेका थिए । ‘तपाईंका भाइ भेटिनुभयो,’ ती कर्मचारीले भने । ‘कहाँ रहेछ,’ खुसीले हौसिँदै रणबहादुरले सोधे । ‘क्वेटा कारागारमा’, दूतावासका कर्मचारीले जबाफ फर्काए, ‘भाइको अवस्था राम्रो छ । नेपाल जानेजस्तो कुरा गर्नु भएन, तपाईं एकपटक यहाँ आउने हो कि ?’

रणबहादुरलाई भाइले किन नेपाल आउन्न भन्यो भन्ने बुझ्न धेरै समय खर्चिनुपरेन । उनलाई थाहा छ– भाइलाई ल्याउन त सकिन्छ तर उसका श्रीमती र छोराछोरी नेपाल ल्याउन सहज छैन । विवाह दर्ता, जन्म दर्ता र नाता प्रमाणीकरण नहुँदा उब्जेको समस्यालाई उनले राम्रोसँग बुझेका छन् । ‘भाइको ठाउँमा म भएको भए पनि त्यही त भन्थें, जुन भाइले भन्यो । आफ्ना छोराछोरी, श्रीमती त्यागेर कोही आउनसक्छ,’ रणबहादुरले भने ।

भाइको अवस्था पत्ता लागेपछि असार १९ गते रणबहादुर नयाँदिल्लीबाट नेपाल फर्के । उनले आफ्नो क्षेत्रका नेता रमेश लेखकलाई भेटेर भाइको समस्या सुनाए । उनले भाइको सपरिवारलाई नेपाल फर्काउन पहल गरिदिन आग्रह गरे । लेखकले परराष्ट्रमन्त्री र सचिवसम्म कुरा पूर्याएको उनको विश्वास छ । नेपाल फर्केपछि उनले भाइसँग पनि मोबाइलमा कुराकानी गरे । ‘भाइ उता रोइरहेको छ, म यता,’ रणबहादुरले भने ।

भाइ नरेन्द्रलाई स्वदेश फर्काउन अहिले रणबहादुर दिनहुँ कसै न कसैको घरमा पुगैकै हुन्छन् । दुई हात जोडी भाइ र उनको परिवारलाई नेपाल ल्याउन सहयोग गरिदिनु पर्यो भन्दै याचना गर्छन् उनी सबैसँग । सहयोगको आश्वासन उनले सबैबाट पाएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर समस्याको पोको खोल्ने उनको धोको भने पूरा भएको छैन । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाको मोबाइलमा पटकपटक फोन गर्दा पनि नउठाउँदा प्रधानमन्त्रीसम्म समस्याको पोको पुर्याउने उनको धोको पूरा हुनसकेको छैन ।

‘सास रहेसम्म आस हुन्छ भन्छन् । सबैले भाइलाई नेपाल ल्याउन सघाउँछौ भन्नुभएको छ । अझै आस मारिसकेको छैन,’ रणबहादुरले नागरिकसँग कुराकानीको बिट मारे ।

आजको नागरिकबाट  ।

क्वेटा जेलबाट चन्दको गुहार : ‘जसरी हुन्छ स्वदेश फर्कन चाहन्छु’

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK