पशुपतिमा नेपाली भट्टका सात दिन

ENGLISH

पशुपतिमा नेपाली भट्टका सात दिन

8 September, 2017 | Bhawana Pathak | 925 Views | comments

विद्रोहबाट शान्तिप्रक्रियामा आएको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्रीको कुर्सीमा पुग्नु नै चौतर्फी चर्चाको विषय थियो । त्यतिखेर माओवादीलाई जनताले पहिलो दलको स्थान पनि दिएका थिए । सत्तारोहणको सुरुवाती अवधिमै प्रचण्डले समाजमा तरंग पैदा गर्ने केही कदम चाले । एउटा कदम थियो, पशुपति मन्दिरमा नेपाली भट्टको नियुक्ति । भारतीय भट्टले मात्रै निरन्तरता पाउने पशुपति मन्दिरमा इतिहासमै पहिलोपटक डा. विष्णुप्रसाद दहाललाई प्रचण्डले भट्टका रूपमा नियुक्त गरे । तर, यो निर्णयको व्यापक आलोचना भयो । १० दिनमै सरकारले डा. दहालको नियुक्ति बदर गर्नुपर्‍यो । तीन दिन गुप्तवास बस्नुपर्ने भएकाले दहालले पशुपतिमा जम्मा सात दिन मात्रै पूजा गर्ने अवसर पाए ।

पशुपतिका भट्टलाई यस्ता नियम
पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा पशुपतिका भट्टहरूले राजीनामा दिएका थिए । ती भट्टहरूले १० देखि २० वर्षसम्म पशुपतिमा काम गरेका थिए । किन राजीनामा दिए भन्ने भेद त खुलेन । तर, मेरो अनुमानमा जंगलबाट आएको माओवादी सरकारमा आफ्नो सम्मान नहुने हो कि भन्ने चिन्ताले राजीनामा दिएका हुन सक्छन् ।

अर्को मलाई लागेको कुरा– मन्दिरमा भट्टले लामो समय काम गर्न सक्दैनन् । किनभने त्यहाँ पुजारीका रूपमा काम गर्दा धेरै खट्नुपर्छ । जाडो–गर्मी जस्तोसुकै समयमा पनि बिहानै नुहाएर दैनिक ६–७ घण्टा पूजामा लाग्नुपर्छ । भट्ट भइसकेपछि निश्चित अनुशासनमा बस्नुपर्छ । खानपान, बोलीचालीदेखि पोसाक पहिरनसम्म निश्चित आचारसंहितामा बाँधिनुपर्छ । प्रोटिनयुक्त खाना खाँदा अपच भएर दिसापिसाब लागिराख्ने भएकाले धेरै प्रोटिनयुक्त खाना खानुहुँदैन । एकदमै सादा खाना खानुपर्छ ।

पशुपति धेरै लामो ऐतिहासिक परम्पराबाट दीक्षित हुँदै आएको शास्त्रीय पद्धतिलाई अनुकूलन पारेर अघि बढेको मन्दिर हो । त्यहाँ पूजा–आजालगायत केही विषयमा थोरै तल–माथि हुँदा त्यो झै–झगडाको बिउ बन्न सक्छ । भारतीय वा नेपाली जो पुजारी भए पनि मन्दिरको विधि–विधान खण्डीकृत हुनुहुँदैन ।

यसरी भएँ पशुपतिको भट्ट
पशुपति मन्दिरमा पाँचजना भट्ट हुन्छन् । पाँचमध्ये एकजना मुख्य भट्ट हुन्छ । चारजना पशुपति मन्दिरमा र अर्का एकजना पशुपति नजिकैको वासुकीनाथ मन्दिरमा रहन्छन् । त्यसवेला पशुपति मन्दिरमा भएका पाँचजनामध्ये चारजना भट्टले राजीनामा दिएका थिए ।
त्यहीवेला प्रधानमन्त्री कार्यालय, संस्कृति मन्त्रालय, पशुपति क्षेत्र विकास कोषलगायतका निकाय सकेसम्म नेपालकै भट्ट राख्ने नभए भारतीय राख्ने निष्कर्षमा पुगेका रहेछन् । ती सरकारी निकायले १५–२० जना डिग्री उपाधि लिएकासँग परामर्श पनि गरेछन् । तर, पशुपतिको पूजाआजाका विषयमा सन्तुष्ट हुन सकेनछन् ।

म नुवाकोटबाट २०३८-३९ सालतिर उपत्यका प्रवेश गरेको मान्छे । ०४१ पछि १२–१५ वर्ष भारतको वनारस विश्वविद्यालयमा पढेँ । त्यसपछि नेपाल फर्किएर महोत्तरीको मटिहानीमा धर्मकर्म गरेर बसेँ । त्यो ठाउँमा करिब १२ वर्ष बिताएँ । यसपछि केही एकेडेमिक काम गर्न दाङको महेन्द्र संस्कृत विश्वविद्यालयमा आएको थिएँ । त्यति नै वेला पशुपतिमा भट्ट खोजी हुँदै छ भन्ने खबर मेरो कानमा प¥यो । सम्बन्धित पक्षलाई मैले धर्मकर्म, तन्त्र, विधिविधान सबै आउने जानकारी गराएँ । पुशपतिको पूजाआजाका विषयमा निरन्तर चार दिनसम्म कुरा भएपछि मसँग शैक्षिक बायोडाटा मागियो । पण्डितले मेरो बायोडाटालगायत सबै जन्म कुण्डली पनि हेरे । सरकारी कर्मचारीदेखि पण्डितहरूसमेत मैले पूजा गर्न सक्ने निष्कर्षमा पुगेछन् ।

११ पुस ०६५ मा मलाई बोलाए । मेरो विवाह, खानपिन, मन्दिरभित्रको आचारसंहितालगायत विषयमा सोधियो । पशुपति मन्दिरको मूल भट्टले विवाह गरेकै हुनुपर्छ । विवाह पनि सजातीयमै गरेको हुनुपर्छ । पुजारीको विर्य बिग्रेको हुनुहुँदैन । मासु तथा यौन उत्तेजना हुने खाना नखाने हुनुपर्छ । आचारसंहिताअनुसार म पूर्ण भएँ । अनि, १३ पुसमा मलाई नियुक्त गरियो । मैले नियुक्तिपत्र लिएँ ।

एउटा कुरा बोलेको अर्कै छापिएर आएछ
नियुक्तिपत्र लिएलगतै केही सुझाब दिनुपर्छ भन्ने लाग्यो । मैले केही सरकारी अधिकारीलाई सुझाब दिएँ– सबैभन्दा पहिला, भारतीय भट्ट हटाएर नेपाली भट्ट राखेको भन्ने सन्देश नहोस् । दोस्रो, पशुपति मन्दिरमा माओवादी कार्यकर्तालाई भट्ट नियुक्त गरियो भन्ने सन्देश जानुहुँदैन । किनभने, म माओवादी पनि होइन र राजनीतिका कुरा खासै जान्दिनँ । म पूरै धार्मिक विधि–विधान जान्ने मान्छे मात्र हुँ । यी दुई आरोपबाट जोगिएर बोल्नुहोला र काम गर्नुहोला ।’

त्यसपछि भट्ट नियुक्त भएपछि धार्मिक, प्राज्ञिक व्यक्तित्वहरूसँग छलफल गरेँ । आफ्ना गुरुसँग आशीर्वाद पनि लिएँ । नियुक्त भएको दिन बेलुकातिर फोन गरेर केही पत्रकार जयवागेश्वरी मन्दिरमा भेट्न आउनुभयो । पशुपतिको इतिहासमै पहिलो नेपाली पुजारी हुनुभएछ भन्दै प्रश्न सुरु गर्नुभयो । मैले सबै प्रश्नको जवाफ दिने प्रयास गरेँ । एउटा प्रश्न सोधिएको थियो– अब के गर्नुहुन्छ ? ‘मानवता र पर्यावरणका लागि पूजा गर्छु,’ मैले जवाफ दिएको थिएँ । तर, भोलिपल्ट पत्रिकामा ‘नेपालीको नाममा पूजा गर्छु’ भनेको भनेर आयो । त्यो समाचारपछि हंगामा भएछ, नेपाली पुजारीले नेपालीकै नाममा पूजा गर्छु भन्यो भनेर ।

तीनदिने त्यो गुप्तवास
१४ पुसमा गुप्तवास बस्ने कुरा भयो । गुप्तवास बस्नुअघि कपाल खौरिने र नुहाउने गरियो । गुप्तवासका लागि पशुपति मन्दिरभित्रैको एउटा ठाउँ व्यवस्था गरियो । पुस महिनाको जाडोमा घाम नलाग्ने, भुइँमा सुत्नुपर्ने, अन्न खान नहुने, यी सबै आचारसंहिताभित्र रहेर बसियो ।

यो अवधिमा हाम्रो देशको सभ्यतालगायत धार्मिक अनुष्ठानका विषयमा चिन्तन गरेँ । भट्टको विषयमा सोच्न थालेँ । पूजाआजा गर्दा भारतीय र नेपाली भट्टले पुकार्ने नदीनाला तथा ईश्वरको नाममा फरक पर्छ । भारतबाट आउने पुजारीलाई नेपालको भौगोलिकलगायत विषयमा जानकारी हुँदैन । उसलाई कोसी, कर्णाली, गण्डकी, राराको विषय पनि जानकारी हुँदैन । उसलाई बरु काबेली, गोडाधुईको गंगा मन्त्रहरू प्रयोग गर्ने संकल्प सोहीअनुसार लिइन्छ । हामीले हिमवत्खण्डको हो भन्दा उनीहरू भारतखण्ड भन्छन् ।

तीन दिनसम्म गुप्तवास बसेँ । दैनिक ध्यान, पूजाका कर्मबाहेक बाहिरी घटनाबारे जानकारी लिन्थेँ । १६ पुसको बेलुका १७ गते मन्दिर प्रवेशका लागि समय निकालियो । पशुपति मन्दिरको पश्चिम ढोकाबाट बिहान साढे १० बजे प्रवेश गर्ने साइत जुर्‍यो ।

पूजाआजको पहिलो दिन
१७ पुसको राति मलाई निद्रा लागेन । भोलि पूजाआजाको पहिलो दिन कस्तो होला भन्ने भयो । बिहानै साढे ३ बजे उठेर नुहाएँ । आफ्नो नित्यकर्म गरे । पशुपतिको भट्टका लागि राजसी ठाँटको विशेष ड्रेस हुन्छ । त्यो ड्रेस पहिरिएँ । बिहानै बाजागाजासहित पशुपतिको परिक्रमा सुरु भयो । सबैभन्दा पहिला बागमती नदीमा संकल्प लिन गयौँ । पशुपतिमा ११ मन्दिर छन्, १० मन्दिर परिक्रमा गरी ११औँ प्रमुख मन्दिर परिक्रमा गर्दा पशुपतिको पश्चिम ढोकामा त ताल्चा लागिसकेको रहेछ ।

पश्चिमतिरको त्यो ढोका बिहान साढे ४ बजे खुल्नुपर्ने, तर बिहान साढे १० बजेसम्म खुलेको थिएन । ताल्चा लागेको थियो । साढे ८ बजे खुल्नुपर्ने पूर्वी ढोका तथा साढे १० बजे खुल्नुपर्ने उत्तर र दक्षिण ढोका पनि बन्द नै थिए । प्रहरीलगायत पशुपति कोषका कर्मचारी मिलेर ताल्चाको साँचो खोज्न थाले । राजीनामा दिएका भट्टदेखि भण्डारी बस्ने घर, डेरा चहार्दा पनि साँचो भेटिएन । बिहान बाजागाजासहित आएका मान्छे पनि बिस्तारै तितर–बितर हुन थाले । हुँदाहुँदै साढे १२ बजेतिर त म एक्लै भएछु । एउटा मान्छे नजिकै आएर भन्यो, ‘साँचो भारतीय दूतावास पुगिसक्यो, तपाईं यहीँ उभिइरहनुहोस् ।’ मैले आफूलाई थाहा नभएको जवाफ फर्काएँ मात्रै ।

दिउँसो साढे २ बजेतिर एक–दुईजना हुँदै फेरि मान्छेहरू जम्मा हुन थाले । कोही पूजा गर्नुपर्छ भन्न थाले भने कोही गर्नुहुँदैन । वादविवाद नै सिर्जना भयो । मन्दिरमा भट्टलाई प्रवेश गर्न दिइयो भने अनिष्ट हुन्छ भन्दै एकाथरीले भाषण गर्न थाले । अनर्गल प्रचार गरियो, सडकमा टायर बालेर विरोध भयो । १७ गतेको वातावरण यस्तो भयो कि, भगवान् नै छैनन् भन्ने भौतिकवादीहरू पनि अत्यन्तै अध्यात्मवादी भएर पूजा गर्नुपर्छ भनिरहेका थिए । भगवान् मान्नेहरू भने पूजा गर्नुहुँदैन भनिरहेका थिए ।

अन्ततः ताल्चा तोडेर भए पनि पूजा गर्नुपर्छ भन्नेहरूको भिड बढी भयो । अपराह्न ४ बजेतिर पश्चिमतिरको ढोकाको ताल्चा फोडेर मन्दिर प्रवेश गरियो । मैले आस्थाको केन्द्रमा पुगेर पूजा गर्न थालेँ । पशुपतिमा त्रिकाल पूजा हुन्छ । विशेष गरेर सूर्यलाई केन्द्रमा राखेर प्रातः, मध्याह्न र अपराह्न गरी पूजा हुन्छ । पुस महिनाको साढे ४ बजे त सूर्य पनि अस्ताइसकेको थियो । पशुपतिको चक्रको रूपमा पूजाआजा गरेँ । मन्दिरका ६ वटा शिर छन् । मन्दिरमा भएका ६ मुखमध्ये ४ वटा मुखको पूजा मूल भट्टले गर्छ । अरू तीनजना भट्टले एउटा शिरको पूजा गर्छन् ।

बिहानैदेखि मन्दिरको वातावरण असहज भएपछि पूजा गर्नका लागि सामग्री थिएन । मन्दिरका लागि जल बोक्ने ११ ब्राह्मण पनि थिएनन् । मैले बल्ल–बल्ल फकाएपछि तीनजना ब्राह्मण जल बोक्न तयार भएका थिए ।

दुबोलाई नै फूलको कल्पना गरेर पूजा गरेँ । अरू धेरै सामग्रीको अभाव हुँदा पनि कल्पना गरेर पूजा गरेँ । त्यहाँ श्रीयन्त्र पूजा गर्न धेरै समय लाग्छ । साढे ४ देखि साढे ८ बजेसम्म मन्दिरमा बसेर पूजा गरेँ । बेलुका पशुपति विकास समिति, सञ्चारकर्मी, प्रशासनलगायत बसेर पुस १८ गते मन्दिरमा कसरी प्रवेश गर्ने भन्ने विषयमा छलफल भयो ।

चार भट्टको काम एक्लै गरेँ
मूल मन्दिरको पश्चिमतिरको मन्दिर भण्डारीले साढे ४ बजे नै खोलिसक्नुुपर्छ । तर, सबै भण्डारी असहयोग गरेर भागेका थिए । मैले साढे ४ बजे नै मन्दिर खोल्न लगाएँ । त्यसपछि भण्डारी र भट्ट दुवैको काम गर्न थालेँ । वास्तवमा भट्टले भक्तजनलाई छुँदैनन्, भण्डारीले नै भक्तजनलाई फूल–प्रसाद लिने–दिने काम गर्छन् । भण्डारी नभएपछि चार भट्टको काम मैले एक्लै गरेँ । ढोका खोल्ने काम पनि आफैँले गरेँ । १५ घण्टासम्म खटेँ । मैले सरकारले दिएको जिम्मेवारी पूरा गरेँ ।

१९ गते बिहान साढे ८ बजेतिर एकजना युवतीले विक्षिप्त अवस्थामा जगल्टा छाडेर, पागल जस्तैगरी बोल्दै मन्दिर प्रवेश गर्ने भक्तजनलाई रोकेकी रहिछन् । यो वातावरणले मन्दिरमा पूजा भएको छैन भन्ने सन्देश बाहिर जान्छ भन्ने लाग्यो ।

तिनलाई नियन्त्रण गर्न ६ जना पुलिसलाई पनि मुस्किल पर्‍यो । बाहिर कोकोहोलो मच्चिएको मैले भित्रबाट सुनेँ । मैले हेर्दा ती महिला सहज थिइनन्, पूरै काँपेकी थिइन् । वातावरण थप बिग्रिन सक्ने अनुमान लगाएँ । मन्त्र, जप पढेर फूल–अक्षता शिरमा राखिदिएपछि ती महिला आफ्नो बाटो लागिन् । त्यस दिन मन्दिरको पूजा नियमितजस्तै भयो ।

१९ गतेसम्म मैले भट्ट र भण्डारीकै जिम्मेवारी निर्वाह गरेँ । तर, त्यस दिन बेलुकाचाहिँ अबबाट भण्डारीको काम गर्दिनँ भनेँ । अन्ततः जल बोक्ने ११ मध्ये तीन ब्राह्मणलाई भण्डारीमा नियुक्त गरियो ।
भोलिदेखि पूजा गर्नु नपर्ने खबर आयो
२० पुसको दिन बिहानै उठेँ । भण्डारी नियुक्त गरिसकेकाले ढोका खोल्न म जानुपरेन । बिहान आठै बजे मन्दिर प्रवेश गरेँ । जल बोक्ने ब्राह्मण पनि थिए । पूजा गर्दा अन्य दिनको तुलनामा सजिलो भयो । यो दिन अपराह्न ४ बजेसम्म पूजा गरेँ । बेलुका आरती पनि गरेँ । यही क्रम २३ गतेसम्म चल्यो । तर, २३ गते पूजा गरेर बेलुकाको आरती पनि सकेपछि भोलिबाट मन्दिरमा पूजा गर्न जानुपर्दैन भन्ने खबर आयो ।

यस्तो सुन्दा म आश्चर्यमा परेँ । यो विषयमा बाहिर धेरै विरोध भयो । भोलि प्रधानमन्त्रीले मेरो नियुक्ति बदर गर्दै छन् भन्ने खबर पनि पाएँ । केही बेरमा आफैँले आफ्नो चित्त बुझाएँ । सरकारको निर्णय स्वीकार गर्ने निधो गरेँ । भोलिपल्ट भयो, त्यही ।

मैले नेपाली भट्टका रूपमा पशुपतिमा सात दिन पूजा गर्ने अवसर पाएँ । दोस्रो वरियताको भट्टका रूपमा नियुक्त भए पनि मूल भट्टकै रूपमा काम गर्ने अवसर पाएँ । मैले भट्टबाट राजीनामा दिएको केही समयपछि भारतीय भट्टहरू नै पुनर्बहाली भएर काम गर्न थाले । भण्डारीहरू पनि नियमित काममा आए ।

-नयाँ पत्रिकाकाबाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साफ

साफ च्याम्पियनसिप फुटबलको १३ औं संस्करण ढाकामा

दक्षिण एसियाली फुटबल महासंघले साफ च्याम्पियनसिप फुटबलको मिति टुंगो...

पोखरा रंगशाला

६ कम्पनीद्वारा पोखरा रंगशाला निर्माणका लागि आवेदन

राष्ट्रिय खेलकुद परिषद्ले पोखरा रंगशाला निर्माणका लागि गरेको ‘ग्लोबल...

एनआरएनए

एनआरएनएको महत्वपूर्ण पदहरुमा नेतृत्व चयन

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नवनिर्वाचित नेतृत्वले संघका...

विजय कुमार गच्छदार

एमालेकी चौधरीलाई पछि पार्दै उप्रम विजयकुमार गच्छदार विजयी

सुनसरी क्षेत्र नम्बर ३ बाट उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK