दिवानमा रमाइरहेका नेपाली

ENGLISH

NRN GLOBAL

दिवानमा रमाइरहेका नेपाली

होम कार्की, ओमान

4 September, 2017 | Sandeep Bhattarai | 640 Views | comments

दिवानमा रमाइरहेका नेपाली

अरबको सौन्दर्य दिनमा होइन रातमा देखिन्छ । दिनभर सूर्यको तेजले सुन्दरतालाई खाइदिन्छ । जब सूर्य अस्ताउँदै जान्छ बिस्तारै अरबी सहर बेहुलीको सिंगारझैं खुल्दै आउँछ । लाग्छ, सहर हीरामोती र सुनैसुनले सजिएको छ ।

ओमनको राजधानी मस्कट नछाडेसम्म यस्तै देखिइरहन्छ । एकापट्टि ठूला सुक्खा चट्टानी पहाड र अर्कोपट्टि विशाल समुद्र । त्यसको बीचमा सुन्दर बगैंचा जसरी सजाएर बनाएको लोभलाग्दो सहर । सहर राम्रो देखिन गगनचुम्बी भवनहरू हुनैपर्छ भन्ने होइन । फराकिलो जग्गामा मिलाएर साना घरहरू बनाए हुन्छ भन्ने प्रमाण हो मस्कट ।

पहाडको फेदीमा बनाइएको मस्कट–सोहर फास्ट ट्रयाक यस्तै सहरहरूलाई छोड्दै मरुभूमितिर लाग्छ । यो बाटोमा ८० किलोमिटर प्रतिघण्टाभन्दा कम गतिमा गाडी कुदाउन रोक छ । यही बाटोको बर्का खण्डमा राति ९ बजे सेतो ट्रक लिएर पर्खी बसेका तान्द्रक–२, गोरखाका ३३ वर्षीय ज्ञानेन्द्र खनाल भेटिए । उनले झिलीमिलीयुक्त चिल्लो सडक छाडेर अन्धकार ठाउँतिर लगे । जति भित्र लाग्दै गयो, त्यति सडकको उज्यालो हराउँदै गयो । जूनको उज्यालोमा भर पर्नुपर्ने भयो । ‘हामीलाई अन्धकारमै बस्ने बानी परिसक्यो,’ खनाल भन्दै अगाडि बढे, ‘मरुभूमितिरको खबर यस्तै छ ।’

ज्ञानेन्द्र ४ अक्टोबर २००७ मा एक्टिभ म्यानपावरबाट ओमन छिरेका थिए । सेनाले माओवादीमा लागेको भन्दै खोज्न थालेपछि गाउँ छोडेका थिए उनले । त्यसपछि नेपाल जाने दिन जुरेन ।

उनी काम गर्ने कम्पनी हो, ‘रोयल कोर्ट अफ दिवान ।’ दिवान ओमनी सुल्तान कावुसका लागि मात्रै काम गर्ने निजी सचिवालय हो । दिवानलाई हेर्नका लागि मात्रै बेग्लै मन्त्रीको व्यवस्था छ । सुल्तानको निजी सुरक्षा, सुसारे, हवाई र समुद्री जहाज, घोडा, ऊँटसम्मको व्यवस्था दिवानले नै गर्छ । एक हजारभन्दा बढी ऊँटलाई घाँस उत्पादन गरी पुर्‍याउने जिम्मा यिनै खनालको हो ।

‘वक्दा माहामुद’ मा डेढ किलोमिटर लम्बाइ र चौडाइभित्र घाँस खेती छ । त्यहाँ घाँस काट्ने कामदारहरू ३५ नेपालीसहित बंगाली र भारतीय गरी झन्डै दुई सय जना छन् । निकै अग्लो पर्खालभित्र खेती छ । बाहिरी व्यक्ति प्रवेश गर्न मनाही छ । साथीको हैसियतमा सजिलै भित्र प्रवेश पाएँ ।

कामदारको खाना खाने समय चलिरहेको रहेछ । मेसमा उनीहरू लाइन लागेर खाना खाँदै थिए । ‘एक जनाले महिनामा १० ओमनी रियाल (२६ सय रुपैयाँ) मेसमा बुझाएपछि दाल, भात र रोटी पाइन्छ,’ उनले भने, ‘माछामासु वा सब्जी खानुपरे आफूले नै व्यवस्था गर्नुपर्छ ।’

तन्नेरी युवाहरूको माझमा देखिए, हटिया–गलकोट, बागलुङका ४९ वर्षीय कुलराज शर्मा । दारी र कपाल फुलेका शर्मा खाना खाएर निमको बोटमुनि राखिएको खाटमा आराम गरिरहेका थिए । शर्माको आफ्नै कथा छ । उनको यौवनकाल भारतमा मजदुरी गर्दै बित्यो । भारतमा केही नभएपछि रिंगेटको खोजीमा मलेसिया पुगे । त्यहाँ चार वर्ष खेर नै गयो । ४ सय ७५ रिंगेट आउँथ्यो । एक सय रिंगेट लेबीमै जान्थ्यो । खान–बस्न र टेलिफोनमा अर्को सय रिंगेट सकिन्थ्यो । ‘ओभरटाइम भएको महिना घर पठाउने पैसा हुन्थ्यो,’ उनले भने, ‘त्यहाँ बस्नुको खास अर्थ देखिनँ । फर्केर नेपाल गएको थिएँ । ओमनको साइत जुर्‍यो ।’

सुल्तानको ओतमा परेपछि भने शर्माले अर्को देशबारे सोच्नुपरेको छैन । महिनामा सरदर ८० हजार रुपैयाँ कमाएका छन् । ‘दुई छोरीहरूको विवाह गरिदिएँ । छोराहरू पढिरहेका छन्,’ ९ वर्षदेखि घाँसी बनेका शर्मा भन्छन्, ‘यो बूढो शरीरले साथ दिएसम्म यही माटोमा खेल्ने मन छ । बाहिर घाममा तावुक उचाल्नुभन्दा दिनमा ४ घन्टा घाँस काट्न सजिलै छ ।’

एक हजारभन्दा बढी ऊँटलाई दैनिक ४ हजार मुठा घाँस पठाउनुपर्छ । सप्रिने भएकाले बोडी र दुधालु घाँस लगाइएको छ । आफूले नै काम गर्ने भएकाले बिहानै चारै बजे उठेर घाँस काट्न जान्छन् उनी । त्यसपछि आठ/नौ बजे कोठामा फर्किन्छन् । दिनभर तातो घाममा आराम गर्छन् । दिउँसो ४ बजेदेखि ६ बजेसम्म फेरि घाँस काट्छन् । शरीरले सधैं साथ नदिएमा आराम गर्ने सुविधा छ । ‘सबै नेपालीको हातमा भएर सजिलो भएको हो । काम लगाउने व्यक्ति सुरी, सुडानी वा इजिप्सियन भएको भए कोही पनि टिक्न पाउँदैनथे होला,’ हेक्लाङ–३, पाल्पाका ४१ वर्षीय शान्तिबहादुर लामिछानेले भने, ‘हरेक दिन चार हजार मुठा घाँस पुर्‍याउन मुस्किल हुन्छ । घाम चर्केको बेला काम गर्न सकिँदैन । त्यस्तो बेला मिलाउन सकिन्छ ।’

काममा पेलान नभएपछि जस्तोसुकै परिस्थिति पनि सहजै बित्छ । हप्कीदप्की नभएपछि ऊर्जा बढ्छ । काटेको घाँस लिएर ऊँटलाई हाल्न लामिछाने आफैं पुग्छन् । घाँस पुर्‍याउन ३५ किमि टाढा पुग्नुपर्छ । ती ऊँटको स्याहारसुसार ओमनी सेनाले गर्छन् । ती ऊँट ‘रेस’ मा दौडाउने हुनाले विशेषखाले छन् । ‘अरू देशमा हुने रेसमा ओमनको प्रतिनिधित्व पनि गर्छन् तिनले । फेरि सुल्तानको ऊँट भनेपछि त्यस्तै बलियो र राम्रो बनाउनुपर्‍यो,’ लामिछानेको भनाइ छ । घाँस काट्दा–काट्दा खप्पिस भइसकेका दुधौली, सिन्धुलीका कृष्णबहादुर बस्नेतलाई लागेको छ, ‘अब त गाउँमा धान काट्न पनि सबैलाई जित्छु जस्तो लाग्छ ।’

घाँस बगैंचामा पहिलाजस्तो कामदार छैनन् । सुल्तानले पहिलाजस्तो खर्च गर्दैनन् । उनीहरूको तलब तेलको बजारसँग जोडिएको छ । तेलको भाउ घटेपछि धेरै खर्च कटौती भएको छ । सुविधा रोकिएका छन् । घाँसीहरूको तलब पनि वर्षको ५ रियाल (१२ सय ५० रुपैयाँ) मात्रै बढ्छ । नयाँ आउनेलाई भत्तासहित २५० रियाल (६६ हजार रुपैयाँ) पाउँछन् भने पुरानाको ८० हजार रुपैयाँसम्म पुगेको छ । ‘म्यानपावारबाट लट–लटमा ल्याउन छोडेको छ,’ खनालले भने, ‘जो नफर्किने गरी जान्छन् । उनीहरूको ठाउँमा मात्रै ल्याउने गरेको छ ।’

कम्पनीले भिसा र टिकट नि:शुल्क दिन्छ । भिसा पाउनै गार्‍हो छ । आफ्नो मान्छेलाई ल्याउन दलाललाई पैसा खुवाउनुपर्छ । भारती र बंगालीले एउटा भिसा पाउन ७ लाख रुपैयाँसम्म लगानी गर्छन् । नेपालीले तीन लाखसम्म तिरेर आउनुपरेको छ । फेरि व्यक्तिगत रूपमा नेपाली कामदार आउन हाम्रै सरकारले रोकेको छ । आफ्नै परिवारको सदस्यलाई मात्रै सीधै तान्न मिल्छ ।

सन्दकपुर–२, इलामका कमल राई भन्छन्, ‘बिदामा गएर पनि आउनै गार्‍हो छ ।’ यो खेती गर्न आउने उनी पहिलो नेपाली हुन् । त्यतिखेर उनी एक्ला थिए । पछि अरू नेपाली पनि थपिएपछि उनले फर्केर जाने विषयमा सोच्नुपरेको छैन । उनीहरूको किसान भिसा भएकाले पुन: श्रम स्वीकृति पाउनै कठिन छ । ‘बिदामा जाने बेला दूतावास जानुपर्छ । दूतावासले झन्डै चार हजार रुपैयाँ (१५ रियाल) राजस्व तिरेपछि एउटा पत्र बनाइदिन्छ । त्यसपछि मात्रै पुन: श्रम स्वीकृति दिन्छ,’ उनले भने, ‘हामीलाई ओमन होइन कि हाम्रै सरकारबाट झमेला छ ।’

एउटा कोठामा २० जना नेपाल टेलिभिजन हेरिरहेका थिए । त्यहीँ भेटिए, सिन्धुलीका ३० वर्षीय सन्तोष कटुवाल । साथीहरूले उनलाई ‘पानी साहु’ को उपनाम दिएका छन् । त्यही कम्पनीमा काम गर्ने १६ जना मिलेर एउटा बचत समूह चलाएका थिए । महिनाको २५ रियाल बचत हुन्थ्यो । यो कोष ठूलो भएर गयो । बाँड्दा भागमा चार लाख पर्ने भयो । त्यसलाई नबाँडी थपेर नेपालमा सामूहिक लगानीमा केही गर्ने योजना बन्यो । खोज्दै र बुझ्दै जाँदा मिनिरल वाटरको उद्योग खोल्ने योजना बन्यो । अहिले ५ करोडको लगानीमा रानीबारी, काठमाडौंमा ‘परिवेश मिनिरल वाटर’ उद्योग पानी उत्पादन गर्न तयार भएको छ । ‘ एउटा उद्योगको मालिक बन्छु भनेर सोचेको थिइनँ,’ डबल बेडको भुइँमा बसेका कटुवाल भन्दै थिए, ‘अब बढीमा दुई वर्ष पछि आफ्नै उद्योगमा काम गर्न फर्किन्छु ।’

कान्तिपुरबाट

नेपालीलाई ओमानमा यातना : घर फर्किन पनि छैन सजिलो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK